• ५ जेठ २०८१, शनिबार

खोलाको बगरबाट बस सञ्चालन

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत २५ गते । सडक नपुगेको सर्लाहीको चुरे भेगस्थित दुर्गम क्षेत्रमा खोलाको बगरबाट बस सञ्चालन भइरहेका छन् । यो वर्ष अहिलेसम्म खोलामा बाढी नआएकाले बगरबाटै बस सञ्चालन भइरहेका हुन् । 

सडक नरहेकाले यहाँको चुरे भेगका केही बस्तीमा खोलाको बगर हुँदै आवजावत गर्नुपर्ने बाध्यता छ । वर्षा हुन थालेपछि खोलामा बाढी आएर गाउँमै थुनिने स्थानीय बासिन्दा अहिले भने खोलाको बगरबाट बस गुड्दा गाउँमा उत्पादित कृषि उत्पादन र खसीबाख्रा बिक्री गर्न तथा आफूलाई आवश्यक पर्ने खाद्यान्न खरिद गर्न बजार आइरहेका छन् । यहाँको बाँके, कालिन्जोर र लखन्देही खोला भएर दैनिक आधा दर्जनभन्दा बढी बस सञ्चालन भइरहेका छन् । 

ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिमराज वाइबाले लालबन्दी बजारदेखि घारिबथान, पीपलदमार हुँदै सिन्धुलीसम्म नियमित बस सञ्चालन भइरहेको जानकारी दिनुभयो । बस सञ्चालन भइरहँदा दुःखबिमार पर्दा बजारसम्म उपचार गर्न आउन र बजारबाट नुन, तेल, चामलजस्ता दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गरेर लैजान सहज भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार ठूलो पानी पर्न थालेपछि खोलामा बाढी आउनासाथ बस चल्न बन्द हुन्छ । लालबन्दी बजारबाट अहिले नारायण खोला हुँदै सिन्धुलीको वरुण, झ्याडी, मरिणलगायतका क्षेत्रमा बस सञ्चालन भइरहेको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो । 

बस व्यवसायीसमेत रहेका वडाध्यक्ष घिसिङले ठूलो वर्षा भएर खोलाको बाटो नबगाएसम्म बस सञ्चालन हुने जानकारी दिनुभयो । जिल्लाको हरिवन बजारदेखि सिन्धुलीको क्यानखोलातर्फ पनि बस सञ्चालन भइरहेको छ । 

सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रबाट अहिले सदरमुकाम सिन्धुलीमाढीसम्म सडक निर्माण भई यातायात सञ्चालन हुने गरे पनि स्थानीय बासिन्दा भने पहिलेझैँ अहिले बजार भर्नका लागि सर्लाहीको लालबन्दी वा हरिवन नै आइरहेका छन् ।