• १३ असोज २०८१, आइतबार

सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिनुपर्छ : सांसद पाण्डे

blog

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डे ।

काठमाडौं, चैत २४ गते । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद पाण्डेले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराउनुभयो ।

उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मूकदर्शक भएर बस्यो भने संसद्को अर्थ नहुनेतर्फ पनि सचेत गराउनुभयो ।

उहाँले भन्नु भयो, ‘‘संसद् जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौँ । तर सरकार मूकदर्शक भएर बस्यो भने आम जनताका बीचमा त्यो संसद्प्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भीरतापूर्वक अब आइन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरूले यहाँ उठेका प्रश्नहरूको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु ।’’

सांसद पाण्डेले संसद्प्रति सरकारलाई जबाफदेही बनाउन पनि मन्त्रीहरूले सांसदहरूले संसदमा उठाएको प्रश्नहरूको अनिवार्य जवाफ दिनुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।