• १९ असार २०८१, बुधबार

नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण

blog

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, चैत २४ गते । 
पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।

मध्यविन्दु–१५ को अरुणखोलाबाट अवैध उत्खनन् कार्यमा संलग्न १२ वटा ट्याक्टर सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा गएको नगर प्रहरीसहितको टोलिले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरहरू आवश्यक कारबाहीका लागि मध्यविन्दु नगरपालिका पठाइएको छ ।

अवैध उत्खननमा संलग्न ना ६ त ६०१२, ना ६ त ६७७२, लु ४ त ५५५१, लु २ त ६४८९, ना ६ त ८२२७, ना ६ त ६५९६, लु ४ त ३०५८, लु ४ त ७८६५, लु ४ त ४९००, लु ४ त ७२९६, प्र. २–०३–००१ त १३ र प्र. २–०३–००१ त ४३७६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । मध्यविन्दु १३ को गिरुवारी खोलामा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिएको मध्यविन्दु नगर प्रहरी प्रमुख नारायण विष्टले बताउनुभयो ।

मध्यविन्दु १५ नदीजन्य पदार्थ उत्खनन् ठेक्का सम्झौता भएको उक्त क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी र नगर प्रहरीको टोली सो क्षेत्र पुगेको थियो । ठेक्का सम्झौता भएको क्षेत्र भए पनि सम्झौता विपरीत रातको समयमा उत्खनन् गर्नु अवैध हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो ।

“ठेक्का सम्झौता भए पनि सम्झौतामा तोकिएको समयमा मात्रै उत्खनन् गर्न पाइन्छ । अन्य समयमा अवैध हुन्छ,” पनेरुले भन्नुभयो, “अर्को कुरा नदीजन्य पदार्थ उत्खननका लागि खोलामा प्रवेश गर्ने सवारीहरूसँग अनिवार्य रूपमा रसिद समेत हुनुपर्छ ।” अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टहरुले पहिलो पटक १५ हजार रुपियाँ र त्यसपछि पटकेको आधारमा जरिवाना बुझाउनु पर्ने मध्यविन्दु नगरपालिकाको नियम रहेको छ ।