• १२ मंसिर २०८१, बुधबार

विपन्न परिवारलाई निःशुल्क धारा

blog

मीना कँडेल 

कावासोती, चैत २४ गते । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विपन्न २० परिवारलाई निःशुल्क धारा वितरण गरेको छ। पूर्वी नवलपरासीको कावासोतीमा रहेका विपन्न परिवारका घरमा मङ्गलबार धारा वितरण गरिएको हो। 

नगरप्रमुख विष्णु भुसाल, संस्थाका अध्यक्ष दीपकराज लम्साल, खानेपानीका पूर्वअध्यक्ष भीम कँडेललगायतले धारा हस्तान्तरण गर्नुभएको हो। धारा, मिटरबक्स, पाइपलगायत जडान गर्दासम्म लाग्ने सम्पूर्ण सामग्री निःशुल्क हुने गरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दीपकराज लम्सालले बताउनुभयो। उहाँले गत वर्ष विपन्न १० घरपरिवारलाई धारा वितरण गरेको बताउनुभयो। निःशुल्क धारा पाऊँ भनी ५१ घरपरिवारले निवेदन दिएको भए पनि अति विपन्न परिवार छनोट गरी यस वर्ष २० घरपरिवारलाई धारा वितरण गरिएको हो। बाँकी घरपरिवारलाई पनि वितरण गर्दै जाने उहाँले बताउनुभयो। 

कावासोती नगरपालिका–५ का खेमबहादुर थापाले निःशुल्क धारा पाएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले धारा नहुँदा समस्या भएको, दिनहुँ अरूको धारामा पानी लिन कुर्नुपर्ने समस्या हटेको बताउनुभयो। उहाँले अरूको धाराबाट पानी खाने र आफूले प्रयोग गर्दा लाग्ने आधा शुल्क तिर्ने गर्दा धेरै समस्या भएको गुनासो गर्नुभयो। कावासोती नगरपालिका–९ का रेसकुमारी महतोले पनि आफ्नो धारा नहुँदा अरूको धाराबाट पानी लिँदा सबमिटरबाट शुल्क तिर्ने गरेको र अहिले आफ्नै घरमा धारा जडान गर्दा खुसी लागेको बताउनुभयो।

खानेपानीका पूर्वअध्यक्ष कँडेलले स्वच्छ र सफा पानी पाउनु सबैको अधिकार भएको बताउनुभयो। विविध कारणले पानी चुहावट भएकाले यसतर्फ सबै लाभग्राही सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो। नगरप्रमुख भुसालले कावासोतीका बासिन्दा कोही पनि सफा खानेपानीबाट वञ्चित हुन नहुने भन्दै सबै वडासँग सहकार्य गरी धारा वितरण गर्न सहयोग गर्ने बताउनुभयो।