• १३ असोज २०८१, आइतबार

बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फालियो, संसदीय समिति पटाऊँ : सांसद पाण्डे

blog

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डे ।

काठमाडौं, चैत २३ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले बञ्चरे डाँडामा व्यवस्थित रूपमा फोहोर फाल्ने भनिए पनि अव्यवस्थित रूपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाइ एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिक ढङ्गले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाउनुभयो ।

‘‘करिब करिब २५ वर्षअघिबाट काठमाडौं उपत्यकामा जम्मा भइरहेको फोहोर, झण्डै ५० लाख जनताले गर्ने फोहोर धादिङ र नुवाकोट जिल्लामा, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरे डाँडा भन्ने ठाउँमा फ्याँक्ने काम भएको छ । केही समयअघि सिसडोलमा फालिन्थ्यो, अहिले बञ्चरे डाँडामा फालिन्छ ।,’’ सांसद पाण्डेले भन्नुभयो, ‘‘त्यो अव्यवस्थित ढङ्गले फालिएको छ । वैज्ञानिक ढङ्गले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर छ । फोहोरबाट निस्किएको झोल छ । घरमा बस्न नसकिने अवस्था छ ।’’ 

सांसद पाण्डेले स्थानीयहरू घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीहरूले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताउनुभयो । उहाँले उक्त क्षेत्र हवाई रुट भएकाले पनि दुर्घटना निम्तिनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘फोहोर वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नको लागि फोहोरलाई माटोले प्रत्येक दिन छोप्न त्यहाँका जनताले आग्रह गर्दा सरकारले प्रहरी लगाएर वारेन्ट जारी गरियो, युवाहरूमा यातना दिइएको छ । त्यहाँ लगेर फोहोर गिद्ध चिलहरूले एक ठाउँबाट अर्को ठाउँमा उडाएर लैजान्छ, हवाई रुट भएकाले जुन कुनै बेला पनि दुर्घटना हुनसक्ने आङ्कलन गर्न सकिन्छ । सभामुख ज्यूलाई अनुरोध गर्छु, संसदीय एक टोली बनाएर त्यो ठाउँमा हेर्न, कस्तो छ हेर्न पठाउन अनुरोध गर्दछु ।’’

सांसद पाण्डेले कोल्पो खोलामा फोहोर बगाउन बन्द गर्न आग्रह गर्नुभयो ।