छविलाल पाण्डे ।
बुटवल, चैत २३ गते । तराईमा गर्मी सुरु हुँदै गर्दा सर्प उद्धारकर्ता सारु कान्छाको दैनिकी पनि फेरिँदै गएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका १० पानबारीका सारु कान्छाले तराईमा गर्मी बढ्न थालेपछि सर्प उद्धार मात्रै होइन सर्पबाट बच्न सचेतनाका कार्यक्रमसँगै झुल समेत वितरण गरेर स्थानीय पानबारीका गरिब तथा विपन्न परिवारका लागि जीवनको सहारा बन्नुभएको छ ।
पछिल्लो समय सारु कान्छाको उपनाम रहेको चेतबहादुर सिंजालीले सर्प उद्धार गरेर सामाजिक काममा उदाहरणीय मात्रै बन्नुभएको छैन, सर्पबाट बच्नको लागि गरिब तथा विपन्न समुदायलाई झुल वितरण गर्नुभएको छ ।
तराईमा सर्पदंशका घटना बढ्न थालेकाले रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं. १० पानबारीमा सर्पदंशका घटनाबाट जोगिन सारु कान्छाले स्थानीय समुदायलाई प्रशिक्षण दिनुभएको छ ।
सर्पदंशका घटना प्रायः गरी रातिमा बढी हुनेगर्दछ । रातिमा सुतेको बेला सर्पले टोकेका घटना बढी सुनिन्छ । सारु कान्छाले जोखिममा रहेका समुदायमा पुगेर १२५ वटा झुल वितरण गर्नुभएको छ ।
सारु कान्छाको सामाजिक सेवाको कामबाट स्थानीय समेत दङ्ग परेका छन् । उहाँको कामको प्रशंसा गर्न जो कोही पछि पर्दैनन् ।
सारु कान्छाले गाउँघरमा सर्प देखिएमा सर्पको उद्धार मात्रै गर्नुहुन्न । सर्पले टोकेका विरामीलाई उपचारका लागि बुटवलसम्म पु¥याउने पनि गर्नुभएको छ । त्यसका लागि उहाँलाई समयको बन्देजले अहिलेसम्म छेकेको पनि छैन ।
स्थानीय पानबारीका बुद्धसिंह खड्का, सारु कान्छाले सर्पको उद्धारमात्र होइन सर्पबाट कसरी बच्ने, दबाई कसरी गर्ने, आफूले पाएको ज्ञान अरुलाई पनि सिकाएर ठूलो गुन लगाएको सुनाउनुहुन्छ ।
सारु कान्छालाई सर्प उद्धारकै क्रममा गतवर्ष गोमन सर्पले डसेको थियो । उहाँलाई यस्तो जोखिमको काम नगर्न घर परिवारबाट पनि दबाब आएको छ । तर, सारु कान्छामा सर्प उद्धार गर्ने, समुदायलाई सहयोग गर्ने र गरिब तथा निमुखा जनताको सेवामा लागिरहने उत्साह छ ।