• ११ मंसिर २०८१, मङ्गलबार

विशालको विशाल साङ्गीतिक यात्रा

blog

काठमाडौँ, चैत २३ गते । नेपाली साङ्गीतिक जगत्मा चर्चित नाम हो, विशाल ढकाल । ठूला चलचित्रलगायत असङ्ख्य गीतमा सङ्गीत दिएका ढकाल निरन्तर यही क्षेत्रमा सक्रिय हुनुहुन्छ । रोजगारीको सिलसिलामा अहिले अस्ट्रेलिया बस्दै आएका उहाँ नवलपरासीको गैँडाकोट नगरपालिका–५, पारिजात टोलका स्थायीवासी हुनुहुन्छ । 

ढकालको साङ्गीतिक यात्रा २०५६ सालबाट सुरु भएको हो । सङ्गीतको प्रारम्भिक शिक्षा गुरु हीरालाल कँडेलबाट लिएका उहाँले सङ्गीत भरेको पहिलो गीत ‘पिरतीको नाउँमा सधैँ’ हो । यो गजल वरिष्ठ कवि गोविन्दराज विनोदीको सिर्जना हो । उहाँका वर रुँदा पीपलको, भरोसाको दियो बाली, टेन्डर, जहाँ म रहे पनि, सुख के हो दुःख के होलगायत दर्जनभन्दा बढी स्थानीय पहिचान बोकेका र शैक्षिक अनि बालगीत पनि रहेका छन् । गैँडाकोटस्थित बाल विकास विद्यालयमा १९ वर्ष अध्यापन गराएका उहाँ नेपाल रोयल्टी सङ्कलन समाजका सदस्य हुनुहुन्छ । ढकालले अहिलेसम्म २०० वटा गीतमा सङ्गीत दिनुभएको छ ।

उहाँको सङ्गीतमा राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, शिव परियार, दीपक लिम्बू, बीपी वाग्ले, जगदीश समाल, अञ्जु पन्त, माण्डवी त्रिपाठी, प्रवीन वेदवाल, रामचन्द्र काफ्ले, अस्मिता अधिकारी, निशान भट्टराई, मिलन अमात्य, रीमा गुरुङ होडा, पुष्कर सुनुवार, राजेन्द्र बजगाईं, भुवन प्यासीलगायतले आवाज दिनुभएको छ । गजल र आधुनिक गीतमा सङ्गीत भर्नुभएका ढकालले जोश र बादशाह नाम भएका दुईवटा नेपाली चलचित्रमा पनि सङ्गीत दिनुभएको छ ।

ढकाल स्थानीय एवं राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । २०७५ सालको नवलपरासी जिल्लाको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित उहाँले मझेरी सङ्गीत साधना सम्मान–२०७९ प्राप्त गर्नुभएको छ । उहाँले पिरतीको नाउँमा सधैँ र जहाँ स्वर्गभन्दा प्यारो गीतबाट उत्कृष्ट सङ्गीतकारका रूपमा राष्ट्रिय उपाधि पनि पाउनुभएको छ । दुई पटक कालिका म्युजिक अवार्ड, आदर्श वर्ष पुरस्कार–२०६८, मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान–२०७९, रिबन इन्टरटेनमेन्ट व्यक्तित्व सम्मान–२०७९ जस्ता सम्मानबाट उहाँ सम्मानित हुनुभएको । 

उहाँ भन्नुहुन्छ, “सङ्गीत जीवन हो र यसबाट टाढा रहन नसक्ने हुनाले नेपाली सुगम सङ्गीतमा अझ धेरै सिक्न बाँकी रहेका छन् ।” उहाँले आगामी दिनमा थप सिर्जनात्मक कोसेली आउने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।