पाँचखाल (काभ्रेपलाञ्चोक), चैत २३ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलुको आर्थिक सहयोगमा चक्लाबन्दी गरिएको जमिनमा इँटाको खलो बनाएको पाँचखाल नगरपालिकाले स्वीकार गरेको छ ।
पाँचखाल नगरपालिकाको कृषि शाखाले समाचार प्रकाशित भएपछि कृषि शाखा प्रमुख अधिकारीको नेतृत्वमा भएको स्थलगत निरीक्षणपछि चक्लाबन्दी गरिएको २८ रोपनी जग्गा इँटा पार्न दिइएको पाइएको उहाँले बताउनुभयो । तर, सो स्थानको माटो भने प्रयोग नगरेको र अन्यत्र स्थानबाटै माटो ल्याएर इँटा पारिएको पाइएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलु समन्वय एकाइ काभ्रेका संयोजक सुमन नेपालले कृषि उत्पादन बढाउन चक्लाबन्दी गरिएको जग्गामा इँटा पार्नु दुःखद रहेको बताउँदै आफूहरूसँग समन्वयको मात्रै भूमिका भएकाले यसको जिम्मेवारी परियोजना र पाँचखाल नगरपालिकाले लिनुपर्ने बताउनुभयो । चक्लाबन्दी भएपछि उत्पादन बढाउन, सिँचाइ तथा यान्त्रिकीकरणमा सहयोग गर्नुपर्ने निकायबाट सहयोग नपाएको गुनासो किसानले गरेको उहाँले दाबी गर्नुभयो।
परियोजनाअन्तर्गत आलुका प्रमुख वरिष्ठ कृषि अधिकृत भरतप्रसाद कँडेलले आलु उत्पादनमा आवश्यक पर्ने बिउ, यन्त्रको मागका आधारमा सहयोग हुँदै आएको बताउनुभयो। स्थानीय श्रमिक कृषक सहकारीमार्फत सो स्थानमा चक्लाबन्दी गरिएको थियो।