शिवशङ्कर मिश्र
बारा, चैत २२ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमाले बाहेक अन्य दलको नेतृत्वको सरकारले गर्न नसक्ने बताउनुभएको छ । अन्य दलमा विकासको भिजन नै नरहेको उहाँले टिप्पणी गर्नुभयो ।
बाराको महागढीमाई नगरपालिका स्थित गढीमाई मन्दिर परिसरमा आयोजित पार्टीको क्षेत्रीय कार्यकर्ता प्रशिक्षण भेलालाई बुधबार सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । नेपाली नागरिकले जन्मसिद्ध नागरिता पाउनुपर्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नागरिकतामा दलहरुले राजनीति गरिरहेको बताउनुभयो ।
अठार वर्षसम्म शान्तिप्रक्रिया टुङ्गो नलगाएकाहरुले रातारात सो विषय टुङ्गो लगाउन प्रयासमा लागेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “पीडितलाई न्याय दिनुपर्छ, पैसा बाँडेर समस्या समाधान हुँदैन ।” देशको अर्थतन्त्र समस्यामा परेको भए पनि सरकार गम्भीर बन्न नसकेको बताउनुभयो ।
एमाले जनताको पक्षमा काम गरेकै कारण घेराबन्दी गरिएको बताउँदै अध्यक्ष ओलीले एमाले बलियो शक्ति बनेर देशको समस्या समाधान गर्ने बताउनुभयो । कानुन र विधिबाटै समस्याको समाधान गर्नुपर्छ भन्दै अध्यक्ष ओलीले चोर बाटोबाट समस्याको समाधान हुन नसक्ने बताउनुभयो । त्यस्तो समाधान दिगो पनि हुन नसक्ने चर्चा गर्नुभयो ।
न्यायालयलाई आ–आफ्नो स्वार्थअनुकुल दुरुपयोग भइरहेको भन्दै उहाँले अदालतलाई अनावश्यक विवादमा पार्ने काम भइरहेको आरोप लगाउनुभयो । अदालतको मर्यादामाथि प्रश्न उठ्ने काम सत्ता गठबन्धनका दलका नेताहरुले गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर त्यसको छिनोफानो नगरी न्यायालयलाई अनिर्णयको बन्दी बनाउने काम भएको उहाँले टिप्पणी गर्नुभयो । बारा २, चितवन २ र तनहुँ १ को उप निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । देशलाई सही ढंगले निकास दिन र जनतालाई न्याय दिन एमाले बलियो हुन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो । देशलाई विग्रन नदिन, ओरालो लाग्न नदिन एमालेलाई जिताउन आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले उपनिर्वाचनमा सहयोग गर्न सबैमा आव्हान गर्नुभयो ।