वसन्त पराजुली
भरतपुर, चैत २२ गते । नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको मागमा परेका चितवन क्षेत्र –२ का उम्मेदवार रवि लामिछानेले आफ्नो उम्मेदवारी खारेज गर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले बुधबार पत्रकारसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो ।
लामिछानेसँग आयोगको कार्यालयले मङ्गलबार जवाफ मागेको थियो । जवाफका बारेमा जानकारी दिँदै निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जवाफका बारेमा अध्ययन भइरहेको र बुधवार नै यसको निर्णय हुने जानकारी दिनुभयो ।
“लामिछानेउपर परेको उजुरी र उहाँले दिएको जवाफका बारेमा अध्ययन भइरहेको छ । आजै यसको अन्तिम निर्णय भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ” उहाँले भन्नुभयो ।
चितवन क्षेत्र २ मा वैशाख १० गते हुन गइरहेको संसदीय उपनिर्वाचनमा उम्मेदवार रहनुभएका पूर्व गृहमन्त्री लामिछानेविरुद्धमा छुट्टाछुट्टै चार वटा उजुरी दर्ता भएका थिए । एकै प्रकृतिका चार उजुरीमध्ये एउटा उजुरीलाई दर्ता गरी निर्वाचन आयोगको कार्यालयलाई जानकारी गराइएको र अन्य तीन उजुरीमाथि आयोगले निर्णय गर्न बाँकी छ ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतीत नभई निर्वाचित हुन् रोक लगाएको भए पनि लामिछानेले त्यो प्रक्रिया पूरा नगरी उम्मेदवारी दिएकाले खारेज हुनुपर्ने माग निवेदन कर्ताहरूको छ ।