• ८ वैशाख २०८१, शनिबार

सङ्क्रमित भेटिएपछि नेपालगञ्जमा कोभिडविरुद्धको बुस्टर खोप दिन सुरु

blog

कोभिडविरुद्धको बुस्टर डोज लगाइँदै । तस्विरः सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, चैत २२ गते । नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएसँगै भारतबाट फर्किनेहरूमा कोभिड सङ्क्रमण भेटिन थालेपछि नियन्त्रणका लागि नेपालगञ्जमा बुस्टर डोजको खोप दिन सुरु गरिएको छ । 

कोभिड सङ्क्रमण नियन्त्रण अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा बुधबारदेखि कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतका अनुसार उपमहानगरका २३ वटै स्वास्थ्य संस्थाबाट बुधबारदेखि फाइजर बाइभ्यालेन्ट खोप दिन सुरु गरिएको हो । 

उहाँले देशमा कोभिडको नयाँ भेरियन्ट फेला परेसँगै भारतबाट आउनेहरूमा समेत सङ्क्रमण भेटिन थालेकाले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन बुस्टर डोज दिन सुरु गरिएको बताउनुभयो । 

कोभिड १९ विरुद्धको पहिलो शृङ्खलाको खोप पूरा गरेको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकालाई दोस्रो बुस्टर दिन सुरु गरिएको नेपालगञ्ज उपमहानगरको स्वास्थ्य महाशाखाका निमित्त प्रमुख बस्नेतले बताउनुभयो ।

५५ वर्ष माथिका पहिलो बुस्टर लिन बाँकी रहेकालाई पहिलो बुस्टर मात्रा, स्वास्थ्यकर्मीहरू, १२ वर्ष माथिका दीर्घ रोगीहरू, गर्भवती र रोगको प्रतिरोध क्षमता कम भएका व्यक्तिहरूलाई पनि पहिलो बुस्टर मात्रा तथा यदि उल्लेखित लक्षित समूहले पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएको छ भने दोस्रो बुस्टर डोज लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

पछिल्लो समयमा आएर भारतमा समेत कोभिडका सङ्क्रमितहरू दिनदिनै बढ्दै गएका छन् भने नेपालबाट रोजगारीका लागि भारतका ठूला सहरमा बसेर फर्किनेहरूको परीक्षण गर्दा निरन्तर सङ्क्रमित फेला पर्ने क्रम पनि जारी रहेको छ । 

सोही कारणले यहाँस्थित नेपाल भारत नाका जमुनाहामा कोभिड परीक्षणलाई पनि बढाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।