• ११ मंसिर २०८१, मङ्गलबार

इन्द्रसरोवरमा डुङ्गाबाट हाम्फालेर एक युवक बेपत्ता

blog

तस्विरः उत्तरी मकवानपुरमा अवस्थित इन्द्रसरोवर ताल ।

राममणि दाहाल

हेटौँडा, चैत २२ गते । मकवानपुरको मार्खुस्थित इन्द्रसरोवर तालमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् । काठमाडौँको छैमलेबाट घुम्न आएका ३३ वर्षीय राजकुमार सुवेदी काठले बनेको डुङ्गामा चढेर तालमा घुम्ने क्रममा हाम्फालेर बेपत्ता भएका हुन् ।

मङ्गलबार दिउँसो सुवेदी डुङ्गाबाट हाम्फालेर बेपत्ता भएपछि खोजी कार्य सुरु गरे पनि बुधबार बिहानसम्म फेला परेको छैन ।

इन्द्रसरोवर ताल डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष कृष्णबहादुर भोम्जनका अनुसार सुवेदीले डुङ्गाबाट हाम्फाल्नु पूर्व लगाएको पातलो ज्याकेट, जुत्ता र मोबाइल डुङ्गामा नै छाडेका थिए । मोबाइल स्विच अफ गरेको र मोबाइलमा भएका सबै सम्पर्क फोन नम्बर हटाएको पाइएको छ, अध्यक्ष भोम्जनले भन्नुभयो, ‘डुङ्गामा शेयर गर्ने समयमा लगाइने लाइफ ज्याकेटसमेत खोलेर हाम्फालेको पाइएको छ ।’

प्रहरीसहित स्थानीयले खोजी एवम् उद्धार कार्य जारी राखे पनि फेला पार्न सकेको छैन । सुवेदीलाई फेला नपारेपछि काठमाडौँ र मुग्लिङबाट उद्धार टोली इन्द्रसरोवरका लागि हिँडेको अध्यक्ष भोम्जनले जानकारी दिनुभयो ।