• १३ मंसिर २०८१, बिहिबार

कुखुराको मासुको मूल्य घट्यो, किसान असन्तुष्ट

blog

काठमाडौँ चैत २२ गते । पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । तर कुखुरा किसान भन्छन्, “हामीलाई सोध्दै नसोधी मूल्य घटाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।” 

सङ्घका अध्यक्ष जङ्गबहादुर बेल्बासेका अनुसार जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ । ४०० रुपियाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको उहाँले बताउनुभयो । 

पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपियाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन् । तर नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने बताउनुभएको छ । कुखुरा आफूहरूको हो, पोल्ट्रीवालाले त्यसको मूल्य निर्धारण गरेर हुँदैन, आफ्नो तयारी मासुको मूल्य घटाउँदा वा बढाउँदा हुन्छ, जिउँदो कुखुराको मूल्य घटाउने अधिकार पोल्ट्री व्यवसायीको नरहेको उहाँले बताउनुभयो । 

पोल्ट्री   व्यवसायीले आफूहरूसँग २००–२५० रुपियाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपियाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “एक सय रुपियाँसम्म मार्जिन राख्नु ठिकै हो तर पोल्ट्री व्यवसायीहरूले २०० रुपियाँभन्दा बढी मार्जिन राखेर उपभोक्तालाई ठग्ने काम गरेका छन् ।” 

पोल्ट्रीका माफियाहरूले आफ्नो अनुकूल मूल्य बढाउँछन्, आफ्नो अनुकूल घटाउने गरेको उहाँले गुनासो गर्नुभयो । पोल्ट्रीबालाहरूले तयारी मासुको मूल्य वृद्धि गरे पनि किसानलाई पुरानै मूल्य दिइरहेको उहाँले गुनासो गर्नुभयो । केही दिन पहिले तयारी कुखुराको मासु एक डेढ सयले बढ्यो तर किसानलाई त्यो मूल्य नदिएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मेहनत किसानले गर्छन्, खान्छन् व्यपारीले ।” तर अध्यक्ष बेल्बासेले किसानसँग सम्बन्धित सङ्घ संस्थासँग सल्लाह गरेर नै मूल्य घटाएको दाबी गर्नुभयो ।

सङ्घले फागुनमै मासुको मूल्य वृद्धि गरेको थियो । हाल देशभर मासुको खपत साढे पाँच लाख केजीभन्दा बढी छ ।