• १२ मंसिर २०८१, बुधबार

निर्वाचन हार्ने डरबाट मुक्त भएर काम गरौँ : मुख्यमन्त्री शाह

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

प्रकाशविक्रम शाह

धनगढी, चैत २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचन हार्छु कि भन्ने सोचबाट मुक्त भएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । आफू पनि सोहीअनुसार काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

आगामी बजेटबारे सुदूरपश्चिमका नगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग मंगलबार भएको छलफलमा उहाँले त्यस्तो बताउनुभएको हो । प्रदेशको समृद्धिकै लागि पालिकालाई जानकारी दिएर वा सिफारिस लिएर मात्रै योजना छनौट गरिने बताउनुभयो ।

भ्रष्टाचारमा शून्य सहनशीलता रहने बताउँदै मुख्यमन्त्री शाहले प्रदेश सरकारले खुला र पारदर्शी भएर काम गर्ने बताउनुभयो । उहाँले विगतको प्रदेश सरकारले के गरे त्यसमा समय खर्च गर्न नहुने बताउँदै आगामी दिनमा राम्रो काम गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।  

सुदूरपश्चिम प्रदेशका एक उपमहानगर र ३३ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको सो कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आफ्ना कार्यकर्ता पाल्न उपभोक्ता समितिबाट काम गर्ने विगतको परम्पराको अन्त्य गर्ने बजेट ल्याउने बताउनुभयो ।  

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले राजनीतिप्रतिको निराशा र त्रास हटाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसमा पालिकाहरूको समेत सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । अघिल्लो सरकारले गरेका राम्रा कामको अनुसरण गर्ने बताउँदै आफूहरूले नियतवस कुनै गल्ती नगर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूले आउँदो बजेटमा उद्योग, कृषि र पर्यटन केन्द्रित बनाएर रोजगारी सिर्जना गर्नेखालको हुनुपर्ने सुझाव दिएका थिए । बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बाँनियाले सुदूरपश्चिमको राजधानी मौलिक विशेषताको बनाउने गरी बजेट विनियोजन गर्नुपर्ने माग राख्नुभयो । 

अछामको पञ्चदेवल नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले दिगो विकास कायम गर्ने गरी विकास योजना तय गर्न सुझाव दिनुभयो । बाजराको वडिमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले तीनै तहका सरकारका साझा अधिकारलाई समेटेर जानुपर्ने बताउनुभयो