• ७ वैशाख २०८२, आइतबार

चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

blog

चितवन निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यको वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछाने । तस्बिरः रासस

काठमाडौं, चैत २१ गते । चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी अयोग्य भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल काठमाडौं–३१ आलोकनगर बस्ने ३५ वर्षीय युवराज पौडेल ‘सफल’ले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लामिछानेविरुद्ध चितवन निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो ।

उजुरीमा भनिएको छ, ‘‘नेपालको संविधान, २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतीत नभई निर्वाचित हुन् रोक लगाएको छ ।’’

लामिछानेले गत माघ १५ गते मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्त गर्नुभएको र सो अघि उहाँले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर पौडेलले गर्नुभएको छ ।

‘‘रवि लामिछानेले माघ १५ गते प्रमुख जिल्ला अधिकारी काडमाडौंसमक्ष गई निवेदक दिएर नेपाली नागरिकता पुनः प्राप्त गरेको हुँदा उक्त मितिबाट मात्रै नेपाल सरकारलाई लामिछानेले अमेरिकाको नागरिकता एवम् स्थायी आवासीय अनुमति पत्र त्याग गरेको कुरा औपचारिक रूपमा जानकारी भएको हुँदा सो समयबाट उम्मेदवारी दर्ता गर्दा र निर्वाचनको दिनसम्म पनि तीन महिना व्यतीत नभएको हुँदा उक्त धारा २९१ अनुसार लामिछानेलाई उम्मेदवार हुन् अयोग्य घोषित गरी पाउँ ।’’ उजुरीमा उल्लेख छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार लामिछानेले चितवन २ मा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।