• ८ वैशाख २०८१, शनिबार

बाँझो जमिनमा व्यावसायिक ओखर खेती

blog

बाँझो जमिनमा व्यवसायिक ओखर खेती ।

नवीन शिशिर विक

बागलुङ, चैत्र २१ गते । बागलुङको जैमिनी नगरपालिका–३ दमेक नौलागाजा दहको सुख्खा र उजाड जमिन अहिले हरियाली भएको छ । 

गत वर्षसम्म बाँझो रहेको नौलागाजा दह क्षेत्रका कृषकहरूले दाँते ओखरको व्यावसायिक खेती थाले पछि हुर्किँदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाले थपेका हुन । बाँझो जमिनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई बागलुङले सहयोगमा एक हजार सात सय दाँते ओखरका बिरुवा रोपिएको छ । 

स्थानीय छन्त्याल कृषक समूहमा आबद्ध कृषकले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । उक्त जग्गा समूहमा आबद्ध कृषकहरूकै हो । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको जैमिनी नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्राविधिक रवीन्द्र शर्माले जानकारी दिनुभयो । 

कलमी बिरुवाले तीन वर्षपछि उत्पादन दिनेछ । “उजाड जमिन हरियाली भएको छ” प्राविधिक शर्माले भन्नुभयो– “बाँझो जमिनको उपयोग र कृषकलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ ।” कार्यक्रमको लागि परियोजनाले दश लाख रुपियाँ उपलब्ध गराएको थियो । 

बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणको लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाइ व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख काट्नको लागि प्रयोग हुने चिम्सो मेसिन खरिदको गर्न कुल १७ लाख ८५ हजार रुपियाँ खर्च भएको छन्त्याल कृषक समूहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिनुभयो । परियोजनाले उपलब्ध गराएको दश लाख बाहेक अपुग भएको रकम कृषकबाट सङ्कलन गरिएको थियो । समूहमा ११४ जना कृषक आबद्ध छन् । 

कृषकले एउटा बिरुवाको ३५० रुपियाँ कृषकले तिरेका थिए । जसको जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यही कृषकले प्रयोग गर्ने प्राविधिक शर्माले बताउनुभयो । वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाको अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ ।  बीज बिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुलेलले जानकारी दिनुभयो । बीज बिरुवाले पाँच वर्ष पछि उत्पादन दिनेछ । उपल्लो दमेक दाँते ओखर खेतीको लागि उपयुक्त क्षेत्र हो ।