द्वितीय विश्वयुद्धमा अमेरिका र जापान कट्टर शत्रु थिए, आपसमा वारपारको लडाइँ लडे । तैपनि शीत युद्ध र त्यसपछिका वर्षमा अमेरिका र जापानबीचको मित्रता अद्वितीय देखिन्छ तथा एसिया प्रशान्त क्षेत्रमा अमेरिकाका लागि जापान एक सबैभन्दा भरपर्दो र नजिकको सहयोगी हो । दुष्कर सम्बन्ध सुखद सम्बन्धमा विकास कसरी भयो ?, कट्टर शत्रुबाट अटल मित्रमा यस्तो सफल रूपान्तरणको भित्री कथा के हो ?
सम्बन्धमा यस्तो गहिरो परिवर्तनको अनुमान गर्न नै कठिन हुन्छ । सन् १९४१ डिसेम्बरमा जापानले अचानक पर्ल हार्बरमा भयङ्कर आक्रमण गरेर अमेरिकालाई स्तब्ध पारेको थियो, जुन हमलापछि अमेरिका औपचारिक रूपमा विश्वयुद्धमा सामेल भयो ।
लगभग चार वर्षपछि अमेरिकाले विध्वंसकारी दुई परमाणु बम जापानी सहरहरू हिरोसिमा र नागासाकीमा पड्कायो । त्यस हमलालगत्तै द्वितीय विश्वयुद्ध समाप्त भयो । तत्पश्चात् जापानमा युद्धोत्तर सात वर्ष अमेरिकाले नियन्त्रण राखेर त्यहाँको पराजित सैन्य शक्तिलाई विघटित गर्ने तथा राजनीतिक संरचनामा आमूल परिवर्तन ल्याउने काम ग-यो ।
तर युद्धपश्चात् अमेरिकाको लक्ष्य शान्ति स्थापना र जापानको पुनर्निर्माण मात्र थिएन । नयाँ विश्व व्यवस्थाको सामना गर्दै महाशक्ति अमेरिकाले सानो तर इतिहासलाई हेर्दा प्रशान्त क्षेत्रको शक्तिशाली राष्ट्र जापानलाई साम्यवाद विस्तारविरुद्ध एक ढालका रूपमा स्थापित गर्ने प्रयास ग¥यो । यस कार्यका लागि अमेरिकी पदाधिकारीहरूले प्रथम विश्वयुद्धपछि सिर्जना भएको परिस्थितिबाट महìवपूर्ण शिक्षा लिए । उनीहरूले जापानी जनसङ्ख्याको हतास आर्थिक तथा आफ्नो सरकार र सेनाप्रति मोहभङ्ग भएको अवस्थाको लाभ उठाएर त्यहाँ प्रजातन्त्रको जग हाल्ने, अनि संविधान तत्अनुरूप लेख्ने वातावरण बनाउनमा लागे । यी सबै माध्यमबाट अमेरिकीहरूले हजारौँ जापानी अमेरिकी सैन्य गुप्तचर भाषाविद् परिचालन गरे । युद्धोत्तर सङ्क्रमणकालमा यो अभियान त्यति नै महìवपूर्ण भयो जति युद्धका बेला उनीहरूले गोप्य रूपमा योगदान गरेका थिए ।
युद्धका बेला मित्रराष्ट्र समूहका सर्वोच्च सैन्य कमान्डर जनरल डग्लस म्याकआर्थरलाई जापानमा युद्धोत्तर सङ्क्रमणकाल व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । प्रथम विश्वयुद्धपछि भएका सन्धिहरूबाट उत्पन्न परिस्थितिलाई उनले राम्रोसँग अध्ययन गरेका थिए । प्रथम विश्वयुद्धपछि असमान सन्धिहरू गरी पराजित जर्मनीमा चरम आर्थिक सङ्कट ल्याउने जुन काम भएको थियो त्यसविपरीत पराजित देशलाई बेइज्जति महसुस नगराउने र ठूलो मात्रामा क्षतिपूर्ति माग गर्ने काम नगरी अमेरिकाले पराजित जापानसँग, विशेषगरी त्यहाँका सम्राटसँग अधिक सकारात्मक सम्बन्ध विकास गर्ने रणनीतिमा काम ग-यो ।
युद्धले ध्वस्त भएको देशमा ठूलो अकालको सम्भावना देखेर अमेरिकाले मानवीय सङ्कट नआओस् तथा त्यसका कारणले अशान्ति सिर्जना नहोस् भनी हवाई माध्यमबाट खाद्यान्न पु-यायो । देशलाई र विश्वलाई युद्धमा होम्ने सम्राट हिरोहितोलाई युद्ध अपराध मुद्दा नलगाई अमेरिकाले रणनीतिक रूपमा उनलाई आलङ्कारिक सम्राटका रूपमा बसिरहन दियो । यसबाट एउटा बहस उत्पन्न भयो, के सैन्यवादी शक्तिहरूले उनीसँग विश्वासघात गरेका थिए । जापानका सम्राटको अनुहार जोगाउन अमेरिकाका राष्ट्रपति ह्यारी ट्रुम्यान प्रशासनद्वारा के तर्क दिइयो भने देश कब्जामा परेकाले साथ मिलेर काम गर्न तथा अतिराष्ट्रवादी साम्राज्यवादी राज्यलाई प्रजातान्त्रिक राज्यमा रूपान्तरणका क्रममा अगाडिको कठिन सङ्क्रमणकालीन परिस्थितिमा नागरिकलाई प्रभावकारी रूपमा प्रोत्साहित गर्ने काम सम्राटबाट हुन सक्छ ।
अमेरिकी सैन्य गुप्तचर विभागको एक शाखा अलाइड ट्रान्सलेटर एन्ड इन्टरप्रेटर सेक्सन (एटीआईएस)का कर्णेल सिड्नी मासबिरले तयारी दस्तावेज पढ्न बाध्य पारिँदा सम्राटलाई लज्जाबोध नहोस् भनी म्याकआर्थरलाई निर्देशन दिएका थिए– दी राइजिङ सन : द डिक्लाइन एन्ड फल अफ दी जापानिज एम्पायरका लेखक जोन टोल्यान्डले लेखेका छन् । सम्राटको आवाज, जुन जापानी नागरिकले पहिले कहिल्यै सुनेका थिएनन्, गहकिलो र औपचारिक थियो तथा उनले सन् १९४५ अगस्त १५ मा सावधानीपूर्वक पहिले नै रेकर्ड गरिएको सन्देश सुनाए । त्यस सन्देशमा उनले कुनै पनि बेला आत्मसमर्पण शब्द प्रयोग गरेनन् । बरु उनले भने जापानले परमाणु स्तरको युद्धलाई निरन्तरता दिने भन्दा पनि शान्ति चाहेको कुरामा जोड दिँदै यस युद्धले जापानलाई सखाप पार्नेछ र त्यो मानवजाति लोपको कारण हुनेछ भने ।
जापानी नागरिकलाई साम्राज्यवाद र विस्तारवादको विशेषताको पाठ दशकौँसम्म पढाएका सम्राटले आफ्नो भाषणमा मानवता र आत्मसम्यम्मा जोड दिँदै भने, “यसपछि हाम्रो राष्ट्रले बेहोर्ने कठिनाइ र कष्ट पक्कै पनि महान् कार्यका लागि हुनेछ ।” उनले जापानी नागरिकलाई सम्बोधन गर्दै अगाडि भने, “सहनशील हुने तथा असहनीयलाई सहन गर्न जान्नु छ ।”
टोकियो खाडीमा तैनाथ यूएसएस मिजोरी पानीजहाजमा सन् १९४५ सेप्टेम्बर २ मा जनरल म्याकआर्थरको कमानमा औपचारिक रूपमा जापानको आत्मसमर्पण कार्यक्रम सम्पन्न भएको थियो ।
जापानको सङ्क्रमणकाललाई प्रजातान्त्रिक समाजमा रूपान्तरित गर्न अमेरिकाले सार्वजनिक सेवा र चाहनाको महìव राम्रोसँग बुझेको थियो । जापानका लागि अमेरिकाको आत्मसमर्पणपछिको नीतिको दस्तावेजको प्रारूपमा जोड दिइयो, “अमेरिकाको इच्छा के छ भने प्रजातान्त्रिक स्वशासनको सिद्धान्तको नजिक रहने सुनिश्चितता सरकारले गरोस् ।”
मित्र शक्ति राष्ट्रले जनभावना तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत हुने गरी जापानमा कुनै पनि खालको सरकार नलाद्ने प्रतिबद्धतासमेत दस्तावेजको प्रारूपमा जनाइयो ।
यी कुराको सुनिश्चितताका लागि म्याकआर्थरको नेतृत्वमा रहेको सैनिक सरकारसँग जापानको आर्थिक, सामाजिक–राजनीतिक तथा सांस्कृतिक रूपान्तरणका कार्य हेर्दै गर्दा व्यापक शक्ति र नियन्त्रण थियो ।
द्वितीय विश्वयुद्धमा जापानविरुद्ध लडाइँ लडिरहँदा अमेरिकाले एउटा गुप्त हतियार प्रयोग गरेको थियो ः पहिलो पुस्ताको जापानिज अमेरिकन (नेसे), जसले प्रशान्त थियटरमा सैन्य गुप्तचर सेवाको भाषाविद्का रूपमा काम गरेका थिए । जापानी प्रवासीको सन्तानका रूपमा जन्मिएका केही नेसेले जापानी बोल्दथे, जसलाई विशेषगरी किबेई भनिन्थ्यो । तिनका अभिभावकले युद्ध पहिले नै शिक्षाका लागि तिनलाई जापान पठाएका थिए । जापानसँग सम्भावित युद्धको अनुमान गरेर अमेरिकाले पर्ल हार्बर आक्रमण पहिले नै नेसेहरूलाई भर्ना गर्ने र तालिम दिन थालिसकेको थियो । आक्रमण तथा लगत्तै जापानी मूलका अमेरिकीप्रतिको उत्पीडनपछि उनीहरूले बढ्दो भेदभाव र शङ्काबीच देशको सेवा गरे ।
युद्ध अवधिमा नेसे भाषाविद्हरूले सञ्चार अनुगमन गरे, नक्सा र दस्तावेजको अनुवाद तथा शत्रु बन्दीसँग सोधपुछमा सहयोग गरेका थिए । सन् १९४४ मा म्याकआर्थरका गुप्तचर प्रमुख जनरल चाल्र्स वेलवीले एक पटक दाबी गरेका थिए, “एक जना ‘एटीआईएस’ भाषा विशेषज्ञ एक पैदल सैन्य बटालियन बराबर जतिको महìवपूर्ण हुन्छ ।” उनको के विश्वास थियो भने जापानी–अमेरिकी भाषाविद्हरूको सहयोगमा युद्धलाई दुई वर्ष छोट्याउन सकिनेछ ।
जापानमा मित्रराष्ट्रहरूको कब्जा भएको तथा पुनर्निर्माण अवधिमा समेत निसेले महìवपूर्ण भूमिका निर्वाह गरेका थिए । जापानमाथि नियन्त्रण भएका बेला पाँच हजारभन्दा बढी निसेले सैन्य सरकारको टोलीका सदस्य भएर खटाइएको क्षेत्रमा रहेर काम गरे । किबेई यस कारण पनि विशेष महìवका थिए, उनीहरूसँग जापानको ऐतिहासिक, सामाजिक–राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक, शैक्षिक र व्यावहारिक मूल्य मान्यताको गहन जानकारी थियो ।
जापानमा नियन्त्रण हासिल गरेपछि अत्यन्त संवेदनशील सुरुका केही महिना निसे र किबेईले गुप्त रूपमा धेरै नै मेहनत गरे, प्रायः जटिल कार्यमा उनीहरू खटिएका हुन्थे । उनीहरूले अमेरिकी र मित्रराष्ट्रका युद्धबन्दीलाई फिर्ता गराउने तथा विदेशमा रहेका जापानी सैनिक र नागरिकलाई जापान ल्याउन विशेष भूमिका निर्वाह गरे । राजनीतिक बन्दी रिहा गर्न तथा युद्ध अपराधीहरूको खोजी कार्य र तिनमाथि कानुनी कारबाहीका लागि प्रमाण जुटाउनमा पनि उनीहरूको सहयोग रह्यो । साथै देशको प्रजातान्त्रिक रूपान्तरण प्रक्रियामा अवरोध उत्पन्न गर्न सक्ने प्रतिरोधको सङ्केत पहिल्याउन जनमानसबीच घुलमिल भएरसमेत उनीहरू बसेका थिए ।
वित्तीय मोर्चाको कुरा गर्दा उनीहरूले जापानको युद्धसँग सम्बन्धित उद्योगहरू नष्ट गर्ने तथा वित्त भण्डार, युद्धकालको कालोबजार र सङ्गठित अपराधलाई उजाड्नमा योगदान गरे । सकभर सबैभन्दा महìवपूर्ण कुरा हुन सक्छ, निसे र किबेईले जापानको नयाँ संविधान लेखनमा ठूलो सहयोग गरेका थिए । लगभग १०३ दफा समावेश नयाँ संविधान सन् १९४७ मे ३ मा जापानमा जारी भयो । भूमि सुधार, महिलाको मताधिकार, अभिव्यक्ति स्वतन्त्रताको स्थापना, संसद् र धर्म, श्रमिक सङ्गठनहरूको प्रतिस्थापन तथा अमेरिकी शैलीको शैक्षिक प्रणालीजस्ता कैयौँ प्रावधान नयाँ संविधानमा समेटिएको थियो ।
नयाँ संविधानको दफा ९ मा धेरै महìवपूर्ण कुरा उल्लेख गरिएको छ । जसअनुसार जापानले सैन्य आक्रामकता त्याग गर्ने बताइएको छ । त्यसमा भनिएको छ, “न्याय र पद्धतिमा आधारित रहेर अन्तर्राष्ट्रिय शान्तिका अभिलाषी जापानी नागरिकले सदाका लागि राष्ट्रको सम्प्रभु अधिकारका रूपमा युद्ध त्याग गर्नेछन् तथा धम्की वा शक्तिको प्रयोग अन्तर्राष्ट्रिय विवाद निरूपणका माध्यम हुनेछन् ।
दशकौँयता भूराजनीति प्रशान्त क्षेत्र तथा अन्यत्र सरेपछि दफा ९ जापान र विदेशमा बहसको विषय बनिरह्यो तर संविधान कहिल्यै संशोधन भएन ।
–हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित तथा सम्पादित ।