• ११ मंसिर २०८१, मङ्गलबार

हिन्दु महासंघको आठौं महासभा बुटवलमा हुने

blog

महासभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २० गते । विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुनेभएको छ । ‘विश्वभरिका ॐ कार परिवारको एकमात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ मुल नारासहित महासभा भोलिदेखि सुरु हुने महासंघले जनाएको छ । 

चैत २१ र २२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्यक्तिहरुको सहभागितामा महासभा हुने विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी बताउनुभयो । उहाँले देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षकको व्यवस्थापन तथा महासभाका लागि झाँकीसहितको शोभायात्राको तयारी पूरा गरिएको जानकारी दिनुभयो ।

राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियानस्वरुप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । 

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खडाल, वरिष्ठ सल्लाहकार तथा पूर्व सांसद शंकरप्रसाद पाण्डे, केन्द्रीय सदस्य अर्जुनकुमार पौडेल, सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले सबैको एकता र सदभाव झल्कीने प्रकृतिको सनातन हिन्दु राष्ट्रको विकल्प नभएको बताउनुभयो ।

महासभा मुल कार्यक्रम आयोजक समितिका संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले रुपन्देहीमा राष्ट्रिय महासभा आयोजना हुनु आफैमा गौरवको विषय भएको बताउनुभयो । रुपन्देही आउने करिव १ हजार ५ सय प्रतिनिधी, पर्यवेक्षकहरुको लागि व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।