दिवाकर पोख्रेल
देउखुरी, चैत २० गते । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठकमा प्रदेश सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रको चिन्ता व्यक्त गरेका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले आफुहरुको निर्वाचन क्षेत्रमा संघ र प्रदेश सरकारका योजना कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
सोमबाको बैठकमा प्रदेशसभा सदस्य हेमा बेल्वासेले राजनीतिक अस्थिरताका कारण स्थानीय स्तरका योजना समेत प्रभावित भएको बताउनुभयो । उहाँले सरकार बनाउने गिराउने खेलले योजना परिवर्तन गर्ने होडवाजी हुने तर कार्यान्वयन नहुने चिन्ता व्यक्त गर्नुभयो ।
यमुना रोका तामाङले रोल्पामा लामो समयदेखि विमानस्थल निर्माणको काम अलपत्र बनेको, लघुवित्त तथा सहकारीको चर्को ब्याजदरले जनता मर्कामा परेको बताउनुभयो । यस्तै, सरुल पुनले रुकुम पूर्वमा पूर्वराजा विरेन्द्र शाहको पालामा आरक्षण क्षेत्र घोषणा गरिएको वन क्षेत्रमा सर्वसाधरणले उपयोग गर्न नपाएको गुनासो गर्नुभयो ।
नीमा गिरीले प्रदेश सभाको पाँचबर्षे कार्यकालमा दिगो योजनााका साथ काम गर्नुपर्ने बताउनुभयो । भण्डारीलाल अहिरले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण कम्पनीले विकास निर्माणका योजना अलपत्र पारेकाले काम नगर्ने निर्माण कम्पनीलाई कामै गर्न नदिन आग्रह गर्नुभयो ।
विशेष समयमा प्रदेशसभा सदस्यहरु चन्द्रशेक गुप्ता, मिना श्रेष्ठ, राजकुमार चौधरी, भगवती अधिकारी, बैजनाथ कलवार, यमवहादुर नेपाली, सन्तोषकुमार पाण्डे, भुवनेश्र चौधरी, गिरधारीलाल न्यौपाने, तारा थापा, रत्नवहादुर खत्री, जानकी न्यौपाने, प्रचण्डविक्रम न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रदेशसभा सदस्यले विशेष समयमा उठाएका विषयको जवाफ एक हप्ताभित्र सम्बन्धीत मन्त्रालयका मन्त्रीले सभामुखमार्फत प्रदेशसभामा जानकारी गराउने व्यवस्था गरेको सभामुख तुलाराम घर्तीले स्मरण गराउनुभयो ।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको तर्फबाट स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले लुम्बिनी प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयक सभामा पेश गर्नुभयो । प्रदेशसभाको आँठौ बैठक भोलि मंगलबार बस्नेछ ।
अहिले लुम्बिनी प्रदेशमा एमाले र राप्रपाको सरकार छ । सरकारमा रहेकोे माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी बाहिरिएपछि सरकार अल्पमतमा छ ।