• २९ वैशाख २०८१, शनिबार

धनगढीमा अटिजम अपाङ्गता बालबालिकाको स्याहार केन्द्र सञ्चालनमा

blog

स्याहार केन्द्रको उद्घाटन गर्दै अटिजम अपाङ्गता बालक । तस्विर– भवानी ऐर

भवानी ऐर 

गोदावरी (कैलाली), चैत २० गते । सुदूरपश्चिममा पहिलो पटक धनगढीमा अटिजम अपाङ्गता भएका बालबालिका केयर सेन्टर सञ्चालनमा आएको छ । प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको सहकार्यमा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले धनगढी–१ शिवनगरमा अटिजम केयर सेन्टर सञ्चालनमा ल्याएको हो । 

अटिजम भएका बालबालिकालाई पठनपाठन र सिकाइको सुविधा उपलब्ध गराउने उद्देश्यले विश्व अटिजम जागरूकता दिवसको अवसरमा आइतबारदेखि धनगढीमा अटिजम केयर सेन्टर सञ्चालनमा ल्याइएको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल संस्थाका अध्यक्ष रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 

उद्घाटन कार्यक्रममा सुदूरपश्चिममा ३५२ जनामा अटिजमको समस्या भएको तथ्याङ्क प्रस्तुत गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपप्रा.डा यज्ञराज पाण्डेले अपाङ्गताका दशवटा प्रकारमध्ये अटिजम न्युरो डिसअर्डरका कारण देखा पर्ने समस्या रहेको बताउनुभयो । अटिजम भएका बालबालिकाको स्वभाव अन्यको भन्दा फरक हुने, सामाजिक अन्तरक्रिया गर्न नसक्ने र बालबालिकामा सञ्चार सिपको विकास नहुने डा. पाण्डेको भनाइ छ । 

अटिजम अपाङ्गताबारे कार्यपत्र प्रस्तुत गर्दै डा. पाण्डेले अटिजम शारीरिक विकासात्मक कठिनाइ भएको र यसमा एक प्रकारको स्नायु सम्बन्धी समस्या रहने बताउनुभयो । अटिजम भएकाले अरूसँग अन्तरक्रिया गर्न चाहन्नन् भने एकै किसिमको गतिविधि बारम्बार दोहोर्‍याउने  गर्छन् । सामाजिक सिप, सामाजिक अन्तरक्रिया र सामाजिक सञ्चारमा अटिजम भएकाहरूमा समस्या भोग्ने गरेको उहाँको भनाइ छ । 

अटिजम भएको कसरी पहिचान गर्ने ? 

अटिजम एक विकासात्मक समस्या भएकाले बालबालिका ३ वर्षको हुँदा अटिजम भएको स्पष्ट रूपमा थाहा हुन्छ । अटिजम भएको थाहा भएपछि थेरापी दिएर व्यवहार सुधार गर्न सकिन्छ । बालबालिकामा अटिजमको पहिलो सङ्केत भने ११ महिनामा देखिने डा. पाण्डेले बताउनुभयो । अटिजम भएकाहरूको असान्दर्भिक हँसाइ र रुवाइ हुने, बच्चाले आँखामा आँखा जुधाएर कुरा नगर्ने, आफूलाई मन परेको कुनै एक सामान या खेलौना घुमाउने र त्योसँग अनौठो लगाव हुने, बिना कारण कुनै कुराप्रति आकर्षित  हुने, अरूले छोयो भने रिसाउने, बोलाउँदा नबोल्ने, नसुने जस्तो गर्ने, खतरा र डरको महसुस नगर्ने र आवश्यकताको सामान अरूको हात समाएर इङ्गित गर्ने गर्छन् ।

अटिजम भएका बालबालिकाले कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न नसक्ने, समयको अवधारणा थाहा नहुने भएपनि विशेष किसिमको सिकाइका माध्यमबाट व्यवहारको विकास गर्न सकिने पाण्डेले बताउनुभयो । 

उद्घाटन कार्यक्रममा मानवअधिकारवादी तथा अपाङ्गता अभियन्ताहरूले संविधानमा उल्लेखित हकअधिकार कार्यान्वयन गर्न माग गर्नुभएको छ । संविधानप्रद सबै हकअधिकार कार्यान्वयन भए अपाङ्गतामा न्यूनीकरण ल्याउन सकिने उहाँहरूको भनाइ थियो । प्रदेश सरकारका सामाजिक विकास पूर्वमन्त्री समेत रहनुभएका प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी र सांसद धर्मराज पाठकले अटिजमलगायत सबै प्रकारका अपाङ्गता न्यूनीकरण गर्न समाज सचेत हुनुपर्ने र शिक्षा स्वास्थ्यलगायतमा सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।