काठमाडौं, चैत २० गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा सङ्घ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
उहाँले मानव जातिका लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले अरू कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अङ्गहरू दान गर्न सक्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘‘मानव जीवनका लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरूको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अङ्गहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’’
अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरूलाई रक्तदानका लागि अपिल समेत गर्नुभएको थियो ।