• १३ मंसिर २०८१, बिहिबार

ऐतिहासिक बल्ढेङ्गढी क्षेत्रमा सेनाको भ्रमण तथा सरसफाइ

blog

भ्रमणका क्रममा नेपाली सेनाको टोली । तस्बिर: रेखीराम राना

रेखीराम राना

पाल्पा, चैत २० गते । नेपाली सेनाको टोलीले ऐतिहासिक स्थल बल्ढेङ्गढीको अध्ययन भ्रमण तथा सरसफाइ गरेको छ । सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवा अधिकृत ८४ जनासहित १०५ जनाको समूहले पाल्पाको ऐतिहासिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेका हुन् । 

सैनिक ब्याटल स्कुलका शिक्षा अधिकृत ब्रिगेडियर जनरल पदम बुढाको नेतृत्वमा रैनादेबीछहरा गाउँपालिकामा रहेको बल्ढेङ्गढीको शिक्षार्थीहरू गढीको अध्ययन भ्रमणसँगै स्थानीयको सहकार्यमा रानी कुवा लगायतका क्षेत्रमा सरसफाइमा गरेको छ । 

बल्ढेङ्गढीबाट तराई, चुरे र महाभारत रेन्जको छोटो दुरीमा हिँडेर अवलोकन गर्न सकिने भएकाले पनि सैनिक दृष्टिकोणले अध्ययनको लागि बल्ढेङ्गढी निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । सदरमुकाम तानसेनदेखि झण्डै ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

घना जङ्गलको अग्लो चुचुरोमा दरबारको भग्नावशेष, इनार, युद्ध मोर्चा, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको शौचालय र मन्दिर रहेका छन् । केही वर्ष अघिदेखि त्यस क्षेत्रमा स्थानीय बासिन्दाले देवताको मन्दिर बनाई पूजाआजा समेत गर्दे आएका छन् ।

वि.स. १४५० देखि १८०९ सम्म मगर समुदायका व्यक्तिले त्यस क्षेत्रमा राज्य गरेको बताइएको छ । हालको बल्ढेङगढी क्षेत्रमा पहिले बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ ।