• २१ वैशाख २०८१, शुक्रबार

चितवन–२ मा रवि लामिछानेकाे उम्मेदवारी दर्ता

blog

वसन्त पराजुली 

भरतपुर, चैत २० गते । वैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ । 

प्रस्तावक सिता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।  निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर २ को कार्यालयमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरूका माथमा गएर लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

यो क्षेत्रमा उम्मेदवार दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।  लामिछाने यस अघि  भारी मतान्तरले निर्वाचित सङ्घीय सांसद हुनुहुन्थ्यो  । उहाँको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि  अहिले उप निर्वाचन हुन लागेको हो ।  

गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी भन्दा ३४ हजार १६२ मतान्तरले उहाँ अगाडी हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले  १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत पाउनु भएको थियो । 

उम्मेदवारी दर्ता गराएपछि  सञ्चारकर्मीहरूसँग बोल्दै लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताउनुभयो । “अब उप चुनाव हुनुमा ककसले कति जिम्मेवारी लने हो त्यो मध्ये मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, उहाँले भन्नुभयो । 

उहाँले लोकतान्त्रिक व्यवस्थामा जनता नै सर्वेसर्वा भएकाले जनताका माझ जान आफू जहिले पनि तयार रहेको बताउनुभयो । नागरिकता प्रकरणमा उम्मेदवार बन्न नपाउने भन्ने कुरा गलत रहेको उहाँका दाबी छ ।

“मैले अमेरिकाको सिटिजनसिप सन् २०१८ मै त्यागेको हो । त्यो त्यागेको मितिले तिन महिना भनेर संविधानले भनेको हुँदा त्यसले मलाई असर गर्दैन”, उहाँले भन्नुभयो ।