• ११ मंसिर २०८१, मङ्गलबार

बीपी र ‘फास्ट ट्र्याक’ कांग्रेस

blog

वि.सं. १९७४ देखि निर्वासित भएसँगै बनारस र भारतका विभिन्न ठाउँमा रहेर राणा शासनको विरोधमा जनमत तयार पार्नु त छँदै थियो, साथै भारतको स्वतन्त्रता आन्दोलनमा हरतरहले सहयोग गर्नु अर्को प्रमुख काम थियो, कृष्णप्रसाद कोइरालाका लागि । यसरी आन्दोलनका घटनाबाट पिताजीसँगै निर्वासनमा रहनुभएका बीपीमा चेतनाका आँखा खुल्दै गए । बीपीमा आन्दोलनको प्रभाव यतिसम्म परेको थियो कि बनारसको सरकारी स्कुल नै बहिष्कार गर्नुभयो । भारतमा ब्रिटिस शासन कायम रहेसम्म नेपालमा राणा शासन हटाउन सकिँदैन भन्ने बुझेर बाल्यकालदेखि नै भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न हुनुएको थियो उहाँ । बिहारको चम्पारन जिल्लाको बेतियामा भएको एउटा काण्डको अभियोगमा सन् १९३० अक्टोबरमा बीपी र मातृका पक्राउ परे । जतिबेला बीपी १६ वर्षका हुनुहुन्थ्यो । त्यसपछि पनि उहाँ बिहारका अनेक ठाउँबाट पटक पटक पक्राउ पर्नुभयो । 

भारतीय राष्ट्रिय कांग्रेसको ‘भारत छोडो’ आन्दोलनका क्रममा केही समय भूमिगत भएर बीपीले बिहार र उत्तरप्रदेशमा आन्दोलनको नेतृत्व सम्हाल्नुभयो । यसरी भारतीय जनता र भारतमा रहेका नेपालीहरूमा बीपीको लोकप्रियता तथा राणा शासन विरोधी गतिविधिका कारण राणाहरू क्रुद्ध त थिए नै, साथै उत्तिकै सशङ्कित पनि थिए । राणाहरू बीपीलाई आफ्नो कब्जामा लिएर उहाँका गतिविधि रोक्न चाहन्थे । त्यसैले बीपीलाई नेपालमा सुपुर्दगीका लागि गरेको अनुरोध ब्रिटिस सरकारले स्वीका¥यो । त्यसपछि बीपीलाई लिन रक्सौलमा आउन भनी राणाहरूलाई पत्र पठाइयो । हत्कडीसहित राणाहरूले पठाएको टोली रक्सौल पुग्यो तर बीपीको तर्फबाट वकालत गरेका वरिष्ठ कानुनविद्हरूले सङ्घीय अदालतमा ब्रिटिस सरकारले बीपीलाई भारतमै राजनीतिक गतिविधिमा संलग्न भएकोले पक्राउ गरेका कारण नेपालमा सुपुर्दगी गर्न मिल्दैन भन्ने मागसहित रिट हाले । अदालतले रिटको माग जायज ठहर गरेपछि बीपीलाई सुपुर्दगी गरिएन । यसैबीच, राणाविरोधी आन्दोलनका क्रममा बनारसबाट डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, राजेश्वरीप्रसाद उपाध्याय, मनमोहन अधिकारीलगायतका नेता पक्राउ परेका थिए । 

उता, गणेशमान सिंह सानै उमेरदेखि राणा शासनको विरोधी गतिविधिमा संलग्न हुनुहुन्थ्यो । देश र देशवासीका लागि जस्तोसुकै जोखिम मोल्न तयार सिंहलाई वि.सं. १९९७ कात्तिक २ गते पक्राउ गरी भद्रगोल जेलमा राखियो । राणा शासन समाप्त पार्ने योजनाअनुसार जेलभित्रै सुरुङ खनेर बाहिर निस्कने सिंहको पहिलो योजना सफल हुन सकेन । त्यसपछि अर्को योजनाअनुसार वि.सं. २००१ असार ७ गते १६ फिट अग्लो बाहिरी पर्खालमा बाँधेको कपडाको डोरी समातेर उहाँ भाग्न सफल हुनुभयो । यसरी कष्टपूर्वक जेलबाट भागेर गणेशमान भारत पुग्न सफल हुनुभएको हो । 

प्रजातन्त्र प्राप्तिका लागि बीपी र गणेशमानले ज्यानको बाजी थापेर आन्दोलनमा होमिएको यो त सानो दृष्टान्त मात्र हो । आन्दोलनको मोर्चामा रहेर सङ्घर्ष गर्दै गर्दा नेपालमा छिट्टै प्रजातन्त्र आउला भनेर उनीहरूले कल्पना समेत गरेका थिएनन् । राणा शासनको दमनका विरुद्ध आन्दोलन गरेर स्वतन्त्रताको लडाइँमा होमिँदा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायतका नेतामा जीवनमा पद र शक्ति पाउने आशा त टाढाको कुरा भयो, बाँच्न पाइने हो कि होइन भने थियो । तैपनि लोकतन्त्र स्थापनाका लागि उनीहरू एकोहोरो ढङ्गबाट निष्ठापूर्वक अनवरत लागिरहे । नेताहरू एउटा के कुरामा ढुक्क थिए भने निरङ्कुश व्यवस्था लामो समय टिक्न सक्दैन । 

आन्दोलनका क्रममा जेलनेलमा भोगेका पीडा र कष्ट बिर्सेर वैचारिक रूपमा उनीहरू प्रस्ट थिए । कांग्रेसका विचारक भनेकै उनीहरू थिए र आजका दिनमा पनि उनीहरूकै विचारलाई आदर्श मानेर कांग्रेस अघि बढिरहेको छ । त्यसैले त प्रजातन्त्र स्थापनाको लडाइँ र त्यसप्रतिको सम्मानले नेताहरूका प्रति सर्वसाधारणको आस्था र विश्वास भएको हो । 

‘फास्ट ट्र्याक’ को हुटहुटी 

कांग्रेसको १४औँ महाधिवेशनको तथ्याङ्क हेर्दा आठ लाख ५२ हजार क्रियाशील सदस्य छन् । तीमध्ये आधाभन्दा बढीले कम्तीमा दुई दशक कांग्रेसका जिल्लादेखि केन्द्र तहका विभिन्न समितिमा बसेर काम गरेका छन् । जसमा अवसर पाउनेको सङ्ख्या ज्यादै न्यून छ र पनि मैले केही पाइनँ भनेर उनीहरूको गुनासो सुनिँदैन । पछिल्लो केही दिनदेखि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेको विषय चर्चामा छ । १० वर्षदेखि कांग्रेसको राजनीतिमा जोडिएका वाग्लेले कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी रोज्दा आफ्नो क्षमताको मूल्याङ्कन पार्टीभित्र हुन नसकेको गुनासो गर्र्नुभएको छ । जब कि पछिल्लो एक दशकमा कांग्रेसबाट पटक पटक अवसर पाउनेमध्येमा डा. वाग्ले पर्नुहुन्छ । २०७० सालमा प्रधानमन्त्री सुशील कोइरालाले वाग्लेलाई राष्ट्रिय योजना आयोगमा सदस्य नियुक्त गरे । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला २०७३ भदौ २६ मा कांग्रेस सभापति देउवाको सिफासिमा वाग्लेलाई पुनः सदस्यमा नै नियुक्ति गरियो । आयोगका सदस्यको दोस्रो कार्यकाल सकिन नपाउँदै तत्कालीन प्रधानमन्त्री देउवाले वाग्लेलाई २०७४ साउन १९ मा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्नुभयो । 

पटक पटक सरकारी लाभको पद पाएका वाग्लेलाई सभापति देउवाले पार्टीभित्र अवसर पनि उत्तिकै दिएको देखिन्छ । २०७२ सालमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले डा. वाग्लेलाई महासमिति सदस्यमा मनोनित गर्नुभयो । त्यस्तै, २०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा पनि वाग्लेलाई राखिएको थियो । यसरी घटनाक्रम हेर्दा कांग्रेसले वाग्लेको योग्यताको कदर गरेको कहीँकतै लुकेको देखिँदैन । डा. वाग्लेको भनाइअनुसार उहाँको परिवारको तीन पुस्ता कांग्रेसको राजनीतिमा छ । तीनपुस्ता कांग्रेसको राजनीतिमा लागेका उहाँजस्ता योग्य व्यक्ति कांग्रेसमा हजारौँ छन् । यदि कांग्रेसले उहाँको योग्यताको कदर नगरेको भए योजना आयोगको उपाध्यक्ष कसरी बन्न सम्भव भयो ? यति मात्र होइन, आयोगको उपाध्यक्ष नियुक्त भएपछि त्यसैका आधारमा उहाँले अन्तर्राष्टिय संस्थामा समेत अवसर जुरेको हो । त्यसका लागि कांग्रेसकाप्रति वाग्ले कृतज्ञ हुनुपर्ने हो तर कांग्रेसले आफ्नो मूल्याङ्कन गरेन भनेर उहाँको गुनासो मात्र सुनिएको छ । 

कांग्रेसको राजनीतिमा जोडिएका वाग्ले मात्र होइन, चार दशकदेखि कुनै अवसर नपाएका धेरै कांग्रेसजनले मङ्सिरको निर्वाचनमा टिकटको आकाङ्क्षा राखेका थिए । सीमित सिटमा सबैले अवसर पाउँदैनन् । त्यस अर्थमा वाग्लेले टिकट नपाउनु स्वाभाविकै थियो र पछिल्लो समय उपनिर्वाचनमा टिकटका लागि उहाँजस्तै धेरैले आकाङ्क्षा राखेका थिए । जसमध्ये तनहुँ १ बाट प्रतिनिधि सभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको स्थानमा स्वाभाविक दाबेदार कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई नै हो । भट्टराई २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुनुभएको थियो । तनहुँमा समकालीन नेतामध्ये धेरैले अवसर पाउँदा भट्टराईले अहिलेसम्म अवसर पाउनुभएको थिएन । भट्टराईले पहिलो पटक सङ्घीय संसद्को निर्वाचनमा पार्टीको तर्फबाट टिकट पाउनुभएको छ । ४० वर्षदेखि निरन्तर सक्रिय भट्टराईले टिकट पाउँदै गर्दा भर्खर १० वर्षदेखि यता मात्रै कांग्रेसको राजनीतिमा सक्रिय भएका वाग्लेको तर्क छ, कांग्रेसले आफूमाथि अन्याय ग¥यो । 

कुनै दलमा आबद्ध पढालेखा आजको पुस्तामा तत्कालै मैले केही पाइहाल्नुपर्छ भन्ने सोच हाबी छ । पार्टीका लागि कति योगदान गरेको छु भन्ने कुरा भुलेर पुरानो पुस्ताको तेजोवध गर्ने प्रवृत्तिबाट प्रस्ट हुन्छ नयाँ पुस्ताले राजनीतिमा ‘फास्ट ट्र्याक’ खोजेको छ । हुन त कांग्रेसमा बेलाबेलामा ‘फास्ट ट्र्याक’ ले मलजल पाएको देखिन्छ । पार्टीको सदस्यता लिएको भोलिपल्ट टिकट पाउने, चुनावमा जिताइदिनुपर्ने र जितेर आएपछि मन्त्री हुनैपर्ने । अनि मन्त्री नबनाएपछि पार्टीले मूल्याङ्कन गरेन भनेर गुनासो गर्ने प्रवृत्ति छ । गुनासो गर्ने मात्र होइन, अवसर पर्दा पार्टी छाड्न पनि तयार हुन्छन् । मानौँ कि धैर्य शब्द उनीहरूको शब्दकोशमै छैन । यस्ता घटनाबाट नेतृत्वले बुझ्नुपर्छ कि अवसरका लागि यो प्रवृत्ति जसरी सत्तासँग टाँसिन्छ, सत्ताबाट बाहिरिएपछि त्यसैगरी कतिबेला फुत्कने भन्ने छट्पटी हुन्छ । 

लेखक पत्रकार हुनुहुन्छ ।