• १३ मंसिर २०८१, बिहिबार

करोडौँ रुपियाँ लागतको पुल प्रयोगमा आएन

blog

देउखुरी समाचारदाता

देउखुरी, चैत २० गते । दाङको लमही नगरपालिका–८, सतबरियाबाट राजपुर गाउँपालिका जोड्ने पुल निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन सकेको छैन। जग्गा विवादका कारण निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएको हो। 

पुल निर्माण कार्य सकिए पनि पुल र सडक जोडिन सकेको छैन। पुलको भाग सकिएपछि व्यक्तिगत जग्गा पर्छ। जसका कारण पुल बने पनि सडक नबन्दा स्थानीयवासीले सुविधा उपभोग गर्न पाएका छैनन्।  लमही–८ का असानी चौधरीले राप्ती नदीमा ५०२ मिटर लामो पक्की पुल दुई वर्षअघि बने पनि पुलसँग जोडिएको सडकको जग्गा विवाद सुल्झिन नसक्दा पुल प्रयोगमा नआएको बताउनुभयो। 

जग्गा विवाद समाधान नहुँदा सरकारले ६८ करोड रुपियाँ लागतमा बनाएको पक्की पुल प्रयोगविहीन बनेको उहाँले जानकारी दिनुभयो। निर्माण कम्पनी अनक रायमाझी जेभीका प्रतिनिधि लक्ष्मण ढकालले पुल निर्माण दुई वर्ष पहिले सकेको बताउँदै विवादित क्षेत्रलाई छोडेर सहमति भएको क्षेत्रमा सडक निर्माण गरिएको बताउनुभयो। 

आर्थिक वर्ष २०७५/७६ बाट यहाँ पुल बनाउन थालिएको थियो। आर्थिक वर्ष २०७७/७८ मै पुल निर्माण सम्पन्न भयो। नदीको दक्षिण किनारबाट सडक गढवा–कालाकाटेमा जोडिने गर्छ तर दक्षिण किनारबाट सडकमा पुग्न ४५ मिटरको जग्गामा विवाद देखिएको छ। 

उक्त जग्गा राजपुर गाउँपालिका–३, भैँसहवा निवासी रामबहादुर यादवको पर्छ। पुल निर्माण हुने बेलामा नापजाँच (सर्भे) गलत तरिकाबाट भएकाले सडक निर्माणका लागि आफ्नो जग्गा दिन आफूले अस्वीकार गरेको उहाँले बताउनुभयो। यहाँको जग्गा विवाद सुल्झाउन स्थानीय सरकारले पहल लिए पनि समाधान भने हुन सकेको छैन।