• १९ असार २०८१, बुधबार

बसपार्क निर्माणमा चरम ढिलासुस्ती

blog

गाईघाट समाचारदाता

गाईघाट, चैत २० गते । जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकास्थित गाईघाटमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणमा चरम ढिलासुस्ती भएको छ। नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा त्रियुगा नगरपालिका–१२ स्थित हातीमारा क्षेत्रमा सो बसपार्क निर्माण हुँदै छ।

व्यवस्थित बसपार्कको अभावमा व्यवसायीले कहिले गाईघाट बजारको सडकमा त कहिले त्रियुगा नदीको बगरमा सवारी पार्किङ गर्दै आएकामा एक वर्षभित्र सुविधासम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी मधेश प्रदेशस्थित सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको निगरानीमा २०७६ सालमा सो योजना सञ्चालनमा ल्याइएको थियो।

तर २०७७ पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको काम पटक–पटक म्याद थप गर्दा पनि पूरा नभएपछि हाल ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजका आयोजना प्रमुख सिनियर  डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवले बताउनुभयो। कोशी प्रदेशकै आधुनिक नमुना बसपार्क बनाउने उद्देश्यले गाईघाटमा निर्माण सुरु भएको त्रियुगा बसपार्कको काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ।

आयोजना प्रमुख देवका अनुसार टर्मिनल भवन, घण्टाघर, यात्रु प्रतीक्षालय, मर्मतसम्भार केन्द्र, चमेनागृह, सार्वजनिक शौचालय र व्यापारिक कम्प्लेक्ससहितको त्रियुगा बसपार्क सम्भवतः कोशी प्रदेशकै सबैभन्दा उत्कृष्ट र नमुना पार्क हुने भनिएको थियो तर रमण आईएस एसबी बिल्डर्स जनकपुरको निर्माण कम्पनीले त्रियुगा बसपार्क निर्माणमा ढिलासुस्ती गरेकाले अब कानुनी प्रक्रियामा जाने तयारी गरिएको उहाँले बताउनुभयो।

 त्रियुगा सभ्यता र विकास कार्यक्रमलाई सफल पार्न यो आधुनिक शैलीमा बनाउन लागिएको त्रियुगा बसपार्क निर्माणका लागि त्रियुगा पुल नजिकैको शान्तिधामभन्दा पश्चिमतर्फको करिब पाँच बिघा जग्गा निःशुल्क उपलब्ध गराउनुका साथै नेपाल सरकारसँग यसका लागि चाहिने बजेट व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट हुने सबै सहयोग जुटाइएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो।

निर्माणका क्रममा आइपर्ने अनेकौँ बाधा अड्काउ फुकाउन र आवश्यकताअनुसारको स्थानीय स्रोत, साधन उपलब्ध गराएर त्रियुगा बसपार्क निर्माणमा नगरपालिकाको समेत योगदान पु-याउन आफू यसमा लागिपर्ने भन्दै नगरप्रमुख बस्नेतले अब पनि निर्माणको काममा यो वा त्यो बहानामा ढिलासुस्ती गरिरहे नगरपालिकाले पनि कानुनी कारबाहीका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

वि.सं. २०४२ देखि निरन्तर रूपमा सवारी सेवा सञ्चालन हुँदै आएको उदयपुरको गाईघाटबाट हाल दैनिक १५० भन्दा बढी यात्रुवाहक बस चल्ने गरेको यहाँको रौता हिमाली यातायात व्यवसायी कम्पनीका अध्यक्ष ओमभक्त मैनालीले बताउनुभयो । आपूmहरूको तीन दशक लामो र अथक प्रयासपछि बल्ल सुविधा सम्पन्न बसपार्क बन्न लागेकोमा सम्पूर्ण व्यवसायी खुसी भएकामा ठेकेदारको गैरजिम्मेवारीपनाका कारण समयमा बसपार्क निर्माण सम्पन्न हुन नसक्नु दुःखद भएको उहाँले बताउनुभयो।

गाईघाट–दिक्तेल सडक र धरान–चतरा–गाईघाट–कटारी हुँदै हेटौँडासम्म जोड्ने गरी निर्माण सम्पन्न भई सञ्चालनमा आएको मदन भण्डारी राजमार्गले गाईघाटलाई चारैतिरबाट एकै ठाउँमा जोडेको हुँदा यहाँ त्यस किसिमको आधुनिक बसपार्क निर्माण हुनु सुनमा सुगन्ध भएजस्तै उत्तम काम भएको भए पनि ठेकेदारले काम नगर्दा आम जनता निराश भएको मैनालीको भनाइ छ। 

सम्झौता अवधिभित्र काम नसकिएपछि २०७७ पुस २९ गते पहिलो पटक १५ महिनाको म्याद थपिएकोमा सो थपिएको म्यादभित्र पनि काम नगरी समय गुजारेको निर्माण कम्पनीले अरू समय मागेअनुसार पुनः छ महिना म्याद थपियो । दोस्रो पटक थपेको म्याद पनि २०७९ असोज २९ गते सकिँदासम्म काम सम्पन्न गर्न आलटाल गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख डीई देवले बताउनुभयो।