गोरखापत्र समाचारदाता
ललितपुर, चैत १९ गते । गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतसङ्गीत ‘नगाइएका गीतहरू’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच त्यसको सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा श्रेष्ठले आफू शारीरिक रूपमा कमजोर भए पनि अझै विमोचित कृतिभित्रको गीत गाउन साहस राख्ने बताउनुभयो । आत्मबल र आत्मविश्वास भएमा कठिन काम पनि गर्न सकिने उहाँले चर्चा गर्नुभयो ।
कृतिकार ताम्राकारले गीत सङ्ग्रहमा माया पिरतीको गीत मात्र नभएर अन्य विषयको गीत पनि समेटिएको चर्चा गर्नुभयो । त्यसमा मुलुकलाई भोग्नुपरेको विसङ्गति, बेथिति, पीडा र विडम्बनाको गीत समेटिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्राज्ञ सरोजनी तन्डुकार आचार्य, चूडामणि देवकोटा, ध्रुव मधिकर्मीले सो अवसरमा धारणा राख्नुभएको थियो । गीतले पूर्णता पाउन गीतकार, गायककार, सङ्गीतकार र एरेन्जरजस्ता चार पक्षको आवश्यकता रहेको वरिष्ठ गायककार जुजुकाजी रञ्जितले बताउनुभयो ।