• १३ मंसिर २०८१, बिहिबार

उद्योग परिसंघको टोलीसँग अर्थमन्त्रीको भेट

अर्थमन्त्री महतलाई ब्याजदर घटाउने सुझाव

blog

नेपाल उद्योग परिसंघ (सीएनआइ) का टोलीलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, चैत १९ गते। नेपाल उद्योग परिसंघ (सीएनआइ) का अध्यक्ष विष्णु अग्रवालसहितको टोलीले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर तरलता बढाउने र ब्याजदर घटाउने उपायसहितको सुझाव दिएको छ।

आइतबार अर्थ मन्त्रालयमा सीएनआइको टोलीले अर्थमन्त्रीसँग छलफल गरेको हो। आफूहरूले दिएको सुझाव दुई महिना भित्र सम्बोधन गरे देशको आर्थिक अवस्था सुधारमा धेरै सहयोग पुग्ने सीएनआइका अध्यक्ष अग्रवालले जानकारी दिनुभयो।

अर्थमन्त्री महतले आफूले निजी क्षेत्रलाई साथमा लिएर आर्थिक अवस्थालाई सकारात्मक बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ।सरकार निजी क्षेत्रको सहयोग लिएरै आर्थिक अवस्था सुधार गर्न लागिपर्ने उहाँको भनाइ छ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘अहिले नकारात्मक रहेको सेन्टिमेन्टलाई सकारात्मक बनाउन निजी क्षेत्रको मलाई साथ चाहिन्छ ।’’ 

सीएनआइले तरलता सहज, ब्याजदर घटाउने र लगानी प्रोत्साहन गर्नुपर्ने विषयमा जोड दिँदै अर्थमन्त्रीलाई सुझाव दिएको छ। अनिवार्य तरलता अनुपात (सीआरआर) घटाउने, नीतिगत र बैङ्क रेट घटाउने, स्थानीय तहमा गएको पैसालाई अहिले ८० प्रतिशतको गणनालाई शतप्रतिशत गणना गर्न पाउनुपर्ने सीएनआइको धारणा छ।

त्यसैगरी, असल कर्जा १.३ प्रतिशतको बिन्दुलाई १ प्रतिशतमा झार्दा १५ अर्ब तरलता प्रणालीमा थपिने सीएनआइको भनाइ छ। एनपीए बढ्न दिनु हुँदैन भन्दै सीएनआइले मार्जिन लेन्डिङ खुकुलो बनाउनुपर्ने र उत्पादन उद्योगलाई दुई प्रतिशत मात्रै प्रिमियममा ब्याज उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ।

निर्माण क्षेत्रमा रोकिएको भुक्तानी तत्काल हुनुपर्नेमा सीएनआइको जोड छ। अर्थमन्त्री नियुक्त भएसँगै महतले निजी क्षेत्रसँगको छलफललाई तीव्रता दिनुभएको छ।