• १० पुस २०८१, बुधबार

ट्याम्पो दुर्घटना हुँदा बालिकाको मृत्यु, चार घाइते

blog

दुर्घटनाग्रस्त भएको टेम्पो । तस्बिर : शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, चैत १९ गते । बारामा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । आइतबार दिउँसो ट्याम्पो दुर्घटना हुँदा घटनास्थलमै एक जना बालिकाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । वीरगन्जबाट कलैयातर्फ जाँदैगरेको स १ ह ७०८ नम्बरको टेम्पु प्रसौनी गाउँपालिका –४ भलुही चोक नजिकै आइतबार दिउँसो २ बजे ट्याम्पो दुर्घटना भएको हो । 

मृत्यु हुनेमा भारत बिहार राज्य पूर्वीचम्पारण मोतीहारी जिल्ला रक्सौल कोइरिया टोल बस्ने आदित्य श्रीवास्तवको तीन वर्षीय छोरी पहरी कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याम्पोमा सवार चार जना घाइते भएको इलाका प्रहरी कार्यालय गण्डकका प्रहरी निरीक्षक विनोद बोहराले जानकारी दिनुभयो । 

घाइते हुनेमा सोही ठाउँका ५८ वर्षीय शिवकुमार वर्मा, २३ वर्षीय जगदेव वर्मा, २५ वर्षीया सीमा देवी र २७ वर्षीया मृत्तककी आमा पूजा श्रीवास्तव रहेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । 

घाइते चारै जनाको एसएल. न्यूरो अस्पताल परवानीपुर बारामा उपचार भइरहेको छ । ट्याम्पो चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ । 

पाँच महिनामा ५८ को मृत्यु

यसअघि पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्डमा रोकी राखेको मालवाहक ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि त्यसमा सवार रौतहट जिल्ला गुजरा नगरपालिका–३ सिमरीका २६ वर्षीय भुवन पहरी र २७ वर्षीय रितबहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी सोमबार पनि सोही सडकखण्डमा निजगढ नगरपालिका –१ सिंगोल टोलका ४८ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको थियो । पूर्वतर्फ जाँदैगरेको ना ६ ख २२६१ नम्बरको मालवाहक ट्रकमा विपरीत दिशाबाट आउँदैगरेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेका तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुदर्शन थापाले बताउनुभयो ।

ट्राफिक कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पाँच महिनामा बारामा ५८ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । चालु आर्थिक वर्ष यता मंसिरसम्ममा बारामा ३२ जना पुरुष, १८ जना महिला, ३ बालक र ५ जना बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको छ । पछिल्लो पाँच महिनामा सडक दुर्घटनाकै कारण मधेस प्रदेशका आठ जिल्लामा २ सय ४० जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ ।