• १८ असार २०८१, मङ्गलबार

सञ्चालनमा आएन चिल्ड्रेन पार्क

blog

निर्माण सम्पन्न भएको चिल्ड्रेन पार्क । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले 

चरीकोट, चैत १९ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुनै लाग्दा समेत चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाको वडा ५ इविथानमा रहेको सो पार्क सञ्चालनमा आउन नसकेको हो ।

सो स्थान वरपरका बालबालिका अहिले ताला लगाइएको पार्कको गेट नाघेर खेल्नेगरेको स्थानीयको भनाइ छ । चिल्ड्रेन पार्क चाँडै सञ्चालनमा आएमा स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन सहज हुने स्थानीय छिन्डोमा शेर्पाले बताउनुभयो । 

प्रदेश सरकारले उपयुक्त ठाउँमा चिल्ड्रेन पार्क निर्माण गरेको भए पनि समयमै सञ्चालनमा नआउँदा समस्या भएको उहाँको भनाइ छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्राप्त करिब एक करोड ५३ लाख रुपियाँको लागतमा निर्माण भएको चिल्ड्रेन पार्क चार रोपनी जग्गामा फैलिएको छ ।

स्थानीय व्यवसायी राजन घतानी हिमाली गाउँलाई पर्यटकीय केन्द्र बनाउन, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयमा आउने सेवाग्राहीको बालबालिकालाई भुलाउन र बजार क्षेत्रका बालबालिका फुर्सदको समयमा रमाउन चिल्ड्रेन पार्क आवश्यक भए पनि सञ्चालन हुन नसक्दा उपयोगविहीन बनेको बताउनुभयो । 

वडा कार्यालय, सुरी प्राथमिक स्वास्थ्य केन्द्र, सहकारीलगायतका कार्यालयसहित झन्डै ७० घरधुरी रहेको इविथानको चिल् ड्रेन पार्क सञ्चालनमा आएमा बालबालिकाको पर्यटकीय केन्द्र बन्न सक्ने स्थानीयको बुझाइ छ । 

गौरीशङ्कर गाउँपालिका वडा –५ सुरीका वडा अध्यक्ष सुन्दर खड्काले चिल्ड्रेन पार्कमा केही संरचना निर्माण गर्न बाँकी रहेको र व्यवस्थापनका लागि समिति निर्माण गर्न लागिएकाले सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । 

वडाको केन्द्रमा निर्माण भएको चिल्ड्रेन पार्क सबै हिसाबले आवश्यक रहेकाले अब केही महिना भित्रमै व्यवस्थित ढङ्गले पार्क सञ्चालनमा आउने उहाँले बताउनुभयो । पार्क सञ्चालन भएपछि दैनिक ५० भन्दा बढी बालबालिका अभिभावकसहित पुग्ने अनुमान गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।