• १३ वैशाख २०८१, बिहिबार

कांग्रेसले बारा– २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

blog

सानेपामा रहेकाे नेपाली कांग्रेसकाे केन्द्रिय कार्यालय ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत १९ गते । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय सुनाउँदै पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले २०७९ को निर्वाचन भन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनुभयो । उहाँले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताउनुभयो । 

‘‘वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँको १ नम्बर निर्वाचन क्षेत्र हामीले पहिला नै उम्मेदवार प्रस्तुत गरिसकेका छौँ, गोविन्द भट्टराई, चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ प्रस्तुत गरिसकेका छौँ, बारामा उपेन्द्र यादवलाई हाम्रो पार्टीबाट साझा उम्मेदवारको रूपमा स्विकार्ने निर्णय गरेका छौँ । पार्टीको अनुशासनको कारबाहीमा पर्नुभएका नेताहरूको हकमा बारा, तनहुँ र चितवन तीन जिल्लाको हकमा अहिलेलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ,’’ उहाँले थपेर भन्नुभयो, ‘‘२०७९ को निर्वाचन बेलाको हकमा उपनिर्वाचनमा उहाँहरूले गर्ने कामहरूलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने भन्ने निर्णय भएको छ ।’’

सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रस्तुत भएको निर्देशिका र वि-नियमावली, प्राप्त सुझाव समेट्ने गरी पारित गर्ने निर्णय गरेको छ ।