• १४ वैशाख २०८१, शुक्रबार

लघुचलचित्र ‘कस्तुरी’ उत्कृष्ट

blog

काठमाडौँ, चैत १९ गते । नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतिस्पर्धामा ‘कस्तुरी’ नामक चलचित्र उत्कृष्ट साबित भएको  छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २२औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतिस्पर्धामा १० वटा लघुचलचित्रबीच प्रतिस्पर्धा भएको थियो । मानिसको मात्र हैन जङ्गली जनावरको समेत आत्मा र आफ्नो परिवार हुन्छ, उनीहरूलाई सिकार गरी मार्दा परिवारमा बिचल्ली हुन्छ भन्ने सन्देश बोकेको सो लघुचलचित्रले प्रथम स्थान हासिल गरेको हो । रविन तामाङद्वारा निर्माण गरिएको उक्त लघुचलचित्रका लागि दुई लाख रुपियाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । 

त्यसैगरी ‘शहीदको परिवार’ नामक लघुचलचित्रले दोस्रो स्थान हासिल गरेको छ । मुलुकको रक्षार्थ तैनाथ नेपाली सेनाका जवानको गस्तीमा रहेका बेला दुश्मनको एम्बुसमा परी मृत्यु भएको विषयलाई कथाका रूपमा प्रस्तुत गरिएको छ । समीप महर्जनले निर्माण गर्नुभएको यस चलचित्रमा सेनाका सिपाहीले सहादत प्राप्त गरेपछि उहाँकी पत्नीले भोग्नु परेको पिडा, सामाजिक अपहेलना र सङ्घर्षको कथा समेटिएको छ । सो चलचित्रका लागि  एक लाख ५० हजारसहित प्रशंसापत्र प्रदान गरिएको छ । 

आर्मी नामक अर्को चलचित्रले तेस्रो स्थान हासिल गरेको छ । आर्मी कहिल्यै पनि जिम्मेवारीबाट विमुख हुँदैन भन्ने सन्देश बोकेको सो चलचित्रमा अवकाशप्राप्त जर्नेलले निःस्वार्थ रूपमा गरिरहेको समाज सेवा तथा उत्तरदायित्व वहनलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।  प्रथम, द्वितीय र तृतीय हुने चलचित्रका निर्मातालाई प्रधानसेनापति प्रभुराम शर्माले नगद तथा प्रशंसापत्र र मेडलसहित सम्मान गर्नुभएको थियो ।

यसैबीच जङ्गी अड्डामा आयोजित एक समारोहमा गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिले नेपाली सेनालाई प्रमाणपत्र प्रदान गरेका छन्  । नेपाली सेना दिवसको अवसरमा आयोजित मादल बजाउनमा नेपाली सेनाले गिनिज वल्र्ड रेकर्ड कायम गर्न सफल भएको थियो । उपरथी सागरबहादुर थापाको परिकल्पनामा आयोजना गरिएको मादल बजाउने कार्यक्रममा ५५८ वटा मादलमार्फत नेपाली सेनाको टोलीले विभिन्न प्रस्तुति देखाएको थियो ।