दिवाकर पोख्रेल
देउखुरी, चैत १८ गते । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीका व्यवसायीले व्यापार तहसनहस भएको भन्दै नेपाली अर्थतन्त्रलाई तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा सहभागी व्यवसायीहरूले उत्पादन क्षेत्रदेखि उपभोगसम्म आउँदा हरेक क्षेत्रमा व्यापारमा सन्तोष गर्ने ठाउँ नरहेकाले तीनतहकै सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्ने सुझाव दिनुभएको हो ।
दाङको लमही नगपालिका लमहीमा कपडा व्यवसाय गर्दै आउनुभएका व्यवसायी शिवशंकर गुप्ताले सरकारले भन्सार नियन्त्रणमा सक्रियता देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय बजारमा जाने उपभोक्ताले चिनियाँको मूल्यमा केन्द्रित हुनुहुन्छ, अन्य सामान खरिद गर्दा ठगिनुहुन्छ, यसले उपभोक्ता र व्यवसायी दुबैलाई बेफाइदा भएको छ ।’
लमही नगरपालिका वडा नम्बर ३ का किसान लेलिन बन्जाडेले किसानको उत्पादन गर्नको लागि लगानी बढेको भए पनि बजार नपाउने समस्या रहेको बताउनुभयो ।
अर्का कृषि व्यवसायी वसन्तराज शर्मा आत्म निर्भरतालाई जोड दिएर सबै उत्पादनको क्षेत्रमा जोडिनुपर्ने धारणा राख्नुभयो ।
लमही नगरपालिका पूर्व नगर प्रमुख कुलबहादुर केसीले उत्पादन क्षेत्रमा अव्यवस्थित बसोबास बढाएर मासिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । युवा व्यवसायी रविन केसीले सरकारले अनुदानको सट्टा सीप र क्षमता बढाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।
लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले केही समयको लागि विदेश भ्रमण जाने कार्यक्रमलाई स्थगित गरेर स्थानीय स्तरकै पर्यटकीय स्थलको प्रचारमुखी काममा सघाउन आग्रह गर्नुभयो ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जनतामा जनप्रतिनिधि नकारात्मक धारणा पलाएको भन्दै सुशासन, अम्बल आर्थिक नीति अपनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्ट्राचार हुनै नदिनेगरी काम गरौँ, सकारात्मक सोचका साथ काम गरौँ अवस्थामा सुधार हुन्छ ।’
नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसाय थला परेको भए पनि निजी क्षेत्र देशमा देखिएको आर्थिक सङ्कट समाधानको लागि परेको दाबी गर्नुभयो ।
देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले व्यवसायीलाई लगानी मैत्री वातावरण सिर्जना गरेर भारतीय बजारबाट अवैध आयात रोक्न पहल थाल्नुपर्ने बताउनुभयो ।