• १२ मंसिर २०८१, बुधबार

स्थानीय विकासको लागि विज्ञ सम्मेलन

blog

विज्ञ सम्मेलनको उद्घाटनमा बोल्दैै सांसद चित्रबहादुर केसी । तस्बिर– नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, चैत्र १८ गते । योजनाबद्ध विकासको लागि बागलुङको जैमिनी नगरपालिकाले विषयगत विज्ञ सम्मेलन गरेको छ । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विज्ञहरूको सम्मेलन गरेको हो । विषयगत क्षेत्र विकास स्रोत साधनको अधिकतम परिचालनका लागि सम्मेलन आयोजना गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्मका विज्ञहरूको सहभागिता रहने नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । “जान्नेले गर्नु र नजान्ने गर्नुमा धेरै फरक पर्छ, ” उहाँले भन्नुभयो– “समृद्ध जैमिनी नगर निर्माणका लागि जान्नेहरूको भेला आयोजना गरिएको हो ।” सम्मेलनले आधारभूत तहको विषयत ज्ञानप्रदान गर्नेछ । 

नगरपालिकाले विकासको नमुना, अहिले भए गरेका काममा रहेका समस्या र आगामी कार्ययोजना बनाउँदा अपनाउनुपर्ने विधिका विषयमा विज्ञहरूसँग छलफल हुनेछ । सम्मेलनमा नगरपालिकाका सबै क्षेत्रका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणको समेत सहभागिता छ । 

सम्मेलनमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. गोविन्द आचार्यले कृषि, गण्डकी प्रदेशको कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयका डा. ग्रीष्म न्यौपानेले पशु विकास, लोक सेवा आयोग केन्द्रीय कार्यालयका उपसचिव देवीप्रसाद सुवेदीले अर्थ÷सार्वजनिक वित्त व्यवस्थापन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. विमल चालिसेले स्वास्थ्यका विषयमा सहजीकरण गर्नुहुनेछ ।  

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा, पूर्वाधार विकास निर्देशनालय पोखराका वरिष्ठ इन्जिनियर रामबाबु पौडेलले पूर्वाधार विकास, छत्रदेव गाउँपालिका गुल्मीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ वाली वैज्ञानिक रमेश आचार्यले कृषि अनुसन्धान र नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

“हामीले सगरमाथा चढ्ने लक्ष्य राखेका छौँ, त्यहाँ पुग्न उचाइ, बाटो र बन्दोबस्तीका विषयमा सगरमाथा नाप्नेहरूले बताउनुहुन्छ, त्यस्तै हो नगरको विकास पनि, उहाँहरूले बाटो देखाइदिनु हुन्छ, कडा मेहेनत गरेर लक्ष्य प्राप्त गर्ने छौँ” नगरप्रमुख पुनले भन्नुभयो ।

विज्ञहरूको सुझाव र नगरका अवस्थालाई मध्यनजर गरेर आगामी योजनाहरू बनाउने नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । नगरको विकासका लागि विज्ञ सम्मेलन कोशेढुंगा साबित हुने उहाँको भनाइ छ ।

विज्ञ विना योजना बनाउँदा काम र व्यवहारिकता फरक पर्ने भएकाले नगरले विज्ञ सम्मेलन गरेको हो । जैमिनीले सुरुवात गरेको सम्मेलन जिल्लाका अन्य स्थानीय तहका लागि समेत सिकाइको विषय हुने प्रतिनिधिसभा सांसद चित्रबहादुर केसीले बताउनुभयो ।