अर्जुन काफ्ले
स्याङ्जा, चैत १८ गते । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले क्षयरोग निवारणमा सबैको चासो आवश्यक रहेको बताउनुभएको छ ।
गाउँपालिका १ मा रहेको दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ सिरुवारिमा शनिबार नेपाल क्षयरोग निवारण संस्थाको ४३ औँ केन्द्रीय वार्षिक सभाको उद्घाटन गर्दै मन्त्री सुन्दासले गण्डकी प्रदेशले नीति बनाएर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारले क्षयरोग, मिर्गौलालगायतका रोगको उपचारमा अगाडि बढेको बताउँदै सबै प्रदेशका सरकारलाई संस्थाले घच्घचाउनु पर्ने बताउनुभयो ।
राज्यसँग सहकार्य गरी संस्थाले स्वयंसेवी काम गरेको बताउँदै मन्त्री सुन्दासले क्षयरोग निवारणमा गाउँस्तरमा अभियान सँगै सरकारसँग सहकार्य गरी अगाडि बढ्न अनुरोध गर्नुभयो ।
संस्थाको विधान संशोधन गरेर प्रदेश सरकारलाई बुझाउन आग्रह गर्दै मन्त्री सुन्दासले सकारात्मक कामको अनुसरण गर्दै आगामी बजेटमा गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
क्षयरोगका बिरामीलाई विगतमा अपहेलना र उपेक्षा गर्ने गरिएको बताउँदै मन्त्री सुन्दासले अहिले सुधार हुँदै गएको बताउनुभयो ।
सभामा गण्डकी प्रदेशका सदस्य सुधीर कुमार पौडेलले प्रचारात्मक र उपचारात्मक कार्यमा संस्था जुटेकोमा प्रशंसा गर्दै समुदायभित्रका लक्षित वर्गको उपचारमा जुट्न आग्रह गर्नुभयो ।
यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य शान्ता खत्री, आँधिखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, संस्थाका महासचिव राजन श्रेष्ठ, स्याङ्जा अध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव युगनारायण श्रेष्ठलगायतले मन्तव्य राख्नु भएको थियो ।
वार्षिक सभामा स्वर्गीय नारायण गोविन्द अमात्य पुरस्कार २०७८ बाट डा. केदार नरसिंह केसी १५ हजार एक रुपियाँ नगदसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
यस्तै, संस्थाले स्वयंसेवकतर्फ खिमलाल डाँगी, कर्मचारीतर्फ कृष्ण महत, कृष्णबहादुर तामाङ र नेको मित्र श्रेष्ठलाई सम्मान गरेको थियो ।
वार्षिक सभाले संस्थाको विधान संशोधन, वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पास गरेको थियो भने आगामी आर्थिक वर्षको प्रस्तावित कार्यक्रम समेत पारित गरेको हो । वार्षिक सभामा ३८ जिल्लाका एक सय दुई जना प्रतिनिधिसहित एक सय ४१ जनाको सहभागिता थियो ।