जीवछ यादव
लहान, चैत १८ गते । लहान–५ बलुवाटोलका दलित बस्तीमा शौचालय निर्माण हुनुअघि खुटी खोलामा खुल्ला शौचालय गर्न बाध्यता थियो । लहान नगरपालिकाको संयोजनमा दलित जन कल्याण युवा क्लबको पहलमा विकन परियोजनाले आधुनिक शौचालय निर्माण गरी दिएपछि बालुवा टोलका समुदाय निकै खुसी छन् ।
चौबन्न घर परिवार समुदायको लागि चौध कोठे आधुनिक शौचालय निर्माण गरेर हस्तान्तरण गरेपछि त्यस बस्तीका स्थानीयहरूको जीवनचर्या फेरिएको स्थानीय निरु पासवान बताउनुहुन्छ । उहाँले खुसी हुँदै भन्नुभयो, ‘खुटी खोलामा खुल्ला शौच गर्दा यस बस्तीमा विवाह गर्न पनि अन्य गाउँका तयार हुँदैनथ्यो । शौचालय निर्माण भएपछि सरसफाइ स्वच्छता सम्बन्धी बालबालिकाहरूमा परिवर्तन आएको छ । अब छोराको विवाह गर्दा बुहारीको लागि शौचालय छ भनेपछि विवाह हुने समस्या पनि टरेको छ ।’
खुटी वारी र पारी दुवै किनारमा सामूहिक शौचालय निर्माण भएपछि खुटी खोलाको वरिपरि जताततै दिसा पिसाब गर्ने कार्य रोकिएको छ । यसले वरिपरिको वातावरणमा निकै सुधार हुँदा स्थानीयहरू खुसी भएको लहान–६ की रजनी पासवानले खुसी साट्नुभयो ।
सामाजिक सहजकर्ता एलिना हेमाङ्ग र नम्रता भट्टका अनुसार शौचालय सञ्चालन गर्ने विधि तयार हुँदैछ । स्थानीय रामकुमारी पासवानले खुटी खोलाको पश्चिमपटिको शौचालय पूर्व नगरप्रमुख कुनि साहको कार्यकालमा र पूर्वपटि बालुवा टोलमा वर्तमान नगरप्रमुख महेशप्रसाद चौधरीको कार्यकालमा निर्माण भएको बताउनुभयो ।
लहान नगरपालिका वडा नम्बर ५, ६ र १० नम्बरका दलित बस्तीमा शौचालय र खानेपानी निर्माण र २० वटा सामुदायिक विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय कार्य गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो ।
लहान नगरपालिकाको २० वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार ८९९ विद्यार्थी र २०८ जना शिक्षक शिक्षिकाहरू खानेपानी र शौचालयको लाभ लिइने विकन परियोजनाका निर्देशक महेश ढुङ्गानाले जानकारी दिनुभयो ।