• ११ मंसिर २०८१, मङ्गलबार

असामान्य रजस्वला

blog

हरेक महिना हुने रजस्वलाबाट महिलामा शरीरको रगत मात्र फेरिँदैन त्यसले नयाँ सिर्जनाको बाटो खोल्छ, शरीरमा शुद्धीकरण हुन्छ । त्यही रगतमा अनेक विकार आइदिँदा महिलाको जीवन पथमा अनेक अवरोध आउँछन् । अन्जानमा उनीहरू अनेक विकारबाट ग्रसित हुन्छन्, रगतको समस्या थाहा नपाएरै कैयौँ महिलाको अकालमा ज्यान गुमाउनु पर्दछ, यो यथार्थ हो तर स्वयंको समस्याबाट महिला अनभिज्ञ छन् तथा यस विषयमा समुदायको चिन्तन भएको देखिँदैन । 

वास्तवमा महिनावारी अर्थात् रजस्वला अनुभव सबै महिलाको एकै खालको हुँदैन । कसैलाई रजस्वलाले निकै पीडा हुन्छ भने कसैलाई अत्यधिक रक्तस्रावले थला पार्दछ । कोहीचाहिँ रजस्वला अवधि सामान्य रूपमा व्यतीत गर्छन् । निकै पीडा हुनुको अवस्थालाई चिकित्सा विज्ञानले विषयगत रूपमा 

‘डिस्मेनेरिया’ भनेको छ र यसका अनेक कारण हुन्छन् । यहाँ उठाइएको सन्दर्भ हो अत्यधिक रक्तस्राव र त्यससँग जोडिएका कारण, अनि निदानको । 

कान्ति लामा (नाम परिवर्तन)लाई महिनावारी हुँदा अत्यधिक पेट दुख्छ । त्यससँगै उनीलाई अत्यधिक रक्तस्राव पनि हुन्छ । एसईई आउनै लागेका बेला पढाइमा ध्यान एकाग्र गर्नुपर्नेमा एक साताभन्दा बढी समय उनी ओच्छ्यानमै लडिरहन्छिन्, कारण हो अस्वाभाविक रजस्वला । बढी रक्तस्रावका कारण छिन् छिन्मा प्याड फेरिरहनुपर्ने, शौचालय गइरहनुपर्ने । त्यति मात्र नभएर बढी रक्तस्राव हुँदा अन्य बिरामी हुँदाझँै लत्राकलुत्रुक भइने । महिनावारीका क्रममा हुने हर्मोन परिवर्तनले कसैसँग बोल्न मनसमेत नलाग्ने । उनी भन्छिन्, “तर रगत बगेको बग्यै गरेपछि म त एकोहोरो नै हुन्छु, मोबाइल फोनसमेत उठाएर हेर्न मन हुँदैन ।”

उनी मात्र हैन दुई छोराछोरीकी आमा राधा शर्मा (नाम परिवर्तन)लाई पनि महिनावारीमा हुने रक्तस्रावले सताउने गरेको छ । सहरमा अचेल पहिलाको जस्तो बार्नुपर्ने र छुट्टै बस्नुपर्ने चलन हराउँदै गएको छ  । त्यसले गर्दा पनि दैनिक काम गर्नुपर्ने बाध्यता छँदै छ । खाना पकाउँदै गर्दा ह्वालल रक्तस्राव हुँदा घरी–घरी आत्तिएर भान्छाको काम धेरै पटक बिगारेको उनी सम्झन्छिन् । बच्चाहरू स्कुल जाने उमेरका छन् । रातभर रगत बगेकाले उठ्न मन हुँदैन तर उठ्नैपर्छ, त्यसमाथि पछिल्लो समय महिनावारीमा रक्तस्राव धेरै हुन थालेकाले उनी चिन्तित छिन् । उनी पीडा सुनाउँछिन्, “पहिले पहिले चार वा पाँच दिनमा सकिन्थ्यो । अचेल सात–आठ दिनसम्म पनि रगत बग्छ । जचाउँदा खराबी छैन भन्छन् तर समस्या उस्तै छ ।”

घरपरिवारमा महिनावारीका बेला आफूले भोगेका यस्ता समस्या सुनाए पनि महिनावारीमा अलिअलि रगत नबगे कहिले बग्छ त जस्तो जवाफले धेरै युवती र विवाह गरेका महिलामा तनाव उत्पन्न हुने गर्छ । हुन पनि हो महिनावारीको समयमा रगत नगए कहिले जान्छ भन्ने जवाफ सामान्य लागे पनि अत्यधिक रक्तस्राव हुँदा महिलाको स्वास्थ्य दिनानुदिन नाजुक हुँदै जान्छ । घरपरिवारकै एक जिम्मेवार सदस्य महिला भएकाले पनि पुरुषले समेत यस्ता समस्यामा महिलालाई साथ नदिई तर्कने गरेको पाइन्छ ।

उता महिला सात–आठ दिनमा पहेँलिएर खर्लप्पै हुन्छन् । महिनावारीमा रगत धेरै जाँदा कामकाजी महिलाको जीवनमा झन् सकस पैदा हुने गरेको छ । कार्यालयमा समयमा पुग्न नसक्नु, पुगे पनि सहज तरिकाले सामूहिक छलफलमा सहभागी हुन नसक्नु, शारीरिक शिथिलतासँगै मानसिक रूपले कमजोर हुँदा कार्यसम्पादनमा असर पुग्ने गरेको अनुभव कामकाजी महिलाहरू सुनाउँछन् । ऊर्जाशील जीवनमा केही गरौँ भनेर अघि बढेका बेला महिनावारीको रक्तस्रावको पीडासँगै पौँठेजोरी खेल्न बाध्य हुनुपर्छ उनीहरूले । साथै रजस्वला सामान्य हुँदा पनि त्यस अवधिमा महिलाले आराम बढी गर्नुपर्ने हुँदा राष्ट्रको समग्र उत्पादकत्वमा त्यसको प्रभाव पर्ने विदेशमा भएका अध्ययन÷अनुसन्धानले औँल्याएका छन् । रजस्वलामा अत्यधिक रक्तस्राव हुन्छ भने त्यसबाट उत्पादकत्वमा पर्ने प्रभाव त छँदै छ स्वास्थ्य अवस्थाको चिन्ता समेत थपिन्छ ।   

अत्यधिक रक्तस्राव हुने महिलाले कालै काटे जसरी आठ दिन काट्दा बल्ल बाँचियो भन्ने महसुस गर्छन् । १०÷१५ दिनमा बल्ल तङ्ग्रिन खोज्दा फेरि अर्को चक्रको मासिक स्राव सुरु हुन्छ । हरेक महिना महिलाले भोग्नु पर्ने अधिक रक्तस्रावले कतै महिलामा रगतसम्बन्धी अरू रोगको बोझले जीवनको उमङ्ग नै समाप्त हुने अवस्था त छैन् ? परिवारका बुवा, श्रीमान् वा अन्य सदस्यले यस बारेमा सोच्न जरुरी रहेको रगत रोग विशेषज्ञ प्राध्यापक डा. विशेष पौड्याल बताउँछन् । 

जब बालिका नौ वा दस वर्षको हुन्छिन् तब उनको शरीरमा यौवनारम्भ भई केही समयपश्चात् रजस्वला हुन थाल्छ ।  रजस्वला भनेको महिलाको पाठेघरमा बच्चा बस्ने क्षमता विकास लागि अण्डाशयमा अण्ड उत्पन्न सुरु हुनु हो । अण्ड उत्पादन भएपछि त्यसमा पुरुष शुक्रकीट मिल्यो भने महिलामा गर्भ बस्छ । नमिलेको खण्डमा ती अण्ड एक महिनाको अन्तरालमा फुटेर महिलाको शरीरबाट बाहिर निस्कन्छन् । सोही प्रक्रियालाई नै रजस्वला भनिन्छ । 

गर्भ बसेको खण्डमा रजस्वला प्रक्रिया बच्चाको जन्मपछि करिब छ महिना रोकिन्छ । फेरि अर्को प्रजननका लागि सक्षम हुँदै महिलाको महिनावारी निरन्तर हुन्छ । यसरी महिनावारीको क्रममा योनि हुँदै बाहिरिने फुटेका अण्डकोषसँगै रगत पनि बाहिरिन्छ तर अत्यधिक रगत बाहिरिनु महिलाको प्रजनन, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि घातक ठहरिन्छ । 

प्रजनन उमेर समूहका महिलालाई रजस्वलाको समयमा अत्यधिक रक्तस्राव हुन सक्छ । महिनावारीको तेस्रो वा चौथो दिन प्रायः रगतका चोक्टा बग्ने तथा दुई÷दुई घण्टामा प्याड फेरिरहनु पर्ने अवस्था आउने, रातमा बढी रक्तस्राव हुँदा छप्प भिजेर हैरानी हुने जस्ता समस्या देखिन्छ । रजस्वलामा अत्यधिक रक्तस्राव हुने सय जनामध्ये ७५ जनामा हर्मोनको असन्तुलन, पाठेघरमा समस्या वा डिम्बाशयमा समस्या देखिन्छ । बाँकी २५ जनामा भने रगतकै रोगका कारण महिनावारीमा अत्यधिक रक्तस्राव हुने गर्छ, डा. पौड्यालको भनाइ छ । 

आमाको गर्भदेखि नै छोरीले रगतको रोग बोकेर आएको खण्डमा रजस्वलाका बेला अत्यधिक रक्तस्राव हुने देखिन्छ ।  त्यसैले रगत जँचाउँदा अन्य रोग पत्ता लागेको छैन तर रजस्वलामा अत्यधिक रक्तस्राव भइरहन्छ भने रगतको कुनै विशेष रोग लागेको हुन सक्छ । स्त्रीरोग विशेषज्ञसँग बारम्बार जँचाउँदा पनि रोगको बारेमा जानकारी मिलेन वा पत्ता लगाउन सकिएन भने ती महिलालाई रगतको वंशाणुगत समस्या भएको उच्च सम्भावना हुन्छ ।

यसको कारण खोज्दा डा. पौड्यालले जानकारी दिए, “मानव शरीरमा रगत जमाउने प्रोटिनहरू हुन्छन् । यदि सम्बन्धित प्रोटिनहरू कम छ भने रगत जम्दैन । प्रोटिन कम भएको, जमाउने क्षमता कम भएको र ती प्रोटिन बन्दै नबन्ने अवस्था लिएर जन्मिएको हो भने महिला वा पुरुषको शरीरबाट रगत बग्न थालेमा रगत जम्दैन । महिनावारी रगत बग्ने एउटा अवस्था हो । जब  महिनावारी सुरु भएकै दिनदेखि रगत धेरै बग्ने गर्छ, अत्यधिक स्राव भएर शरीरमा हेमोग्लोबिनको मात्रा कम हुन्छ । त्यसका कारणले हिँड्न नसक्ने, दम बढ्ने, मुटुको चाल बढ्ने, कान कराउने जस्ता लक्षण देखिन्छन् ।” 

यस्तो समस्या भएका महिलालाई फलाम तत्व खुवाउनु पर्र्ने, रगत नै चढाउनुपर्ने अवस्था आउन सक्छ । वास्तवमा रगतका रोगको बारेमा नेपालमा जनचेतना छैन । रक्तअल्पता वंशाणुगत समस्या पनि हुन सक्छ तर महिनावारीमा बढी रगत बग्ने तर अन्य कारण वा रोग पत्ता नलागेमा रगतको विशेष परीक्षण गरेर समाधान खोज्न सकिन्छ । 

डा. पौड्यालका अनुसार त्यस्तो परीक्षण प्रविधि नेपालमा भित्रिसकेको छ । निजामती कर्मचारी अस्पतालमा मात्र त्यो प्रविधि छ तर त्यसको जानकारी आम मानिसलाई छैन ।  

महिलामा हुन सक्ने रगतसम्बन्धी रोगहरू

डा. पौड्यालका अनुसार धेरै प्रकारको रगतका रोग छन् । जसले महिलाको प्रजनन क्षमतासँगै उनीहरूको ऊर्जाशील जीवनमा बाधा उत्पन्न गरिरहेका हुन्छन् । 

हेमोफिलिया 

हेमोफिलिया एक आनुवंशिक रक्तस्राव विकार हो । हेमोफिलिया भएका मानिसमा सामान्यभन्दा लामो समयसम्म रगत बग्छ ।  किनभने तिनीहरूको रगतमा जम्ने प्रोटिनको कमी हुन्छ ।  हेमोफिलिया वंशाणुगत रोग हो । यसको अर्थ यो आमाबावुको जिनमार्फत यो विकार बच्चामा सर्छ । त्योचाहिँ रगतमा ‘फ्याक्टर ८ र ९’ कम भएर हुन्छ । 

हेमोफिलिया पुरुषवर्गमा बढी देखिएको छ । हेमोफिलियाका कुल बिरामीमा ९९.९ प्रतिशत पुरुष हुन्छन् तर बाँकी ०.१ प्रतिशत दर महिलाको छ । महिनावारीमा महिलाको रगत धेरै बग्ने समस्या हेमोफिलियाका कारण हुन सक्छ । यो रोग पुरुषमा धेरै देखिएकाले महिलालाई हेमोफिलिया हुँदैन भन्ने भ्रम चिकित्सकवर्गमै पनि छ । “कतिपय चिकित्सकलाई त महिलालाई यो रोग हुन्छ भन्ने जानकारी छैन । त्यतातिर पनि महिलावर्गले सोच्नैपर्ने अवस्था रहेको छ,” डा. पौड्याल भन्छन् । 

हेमोफिलियाले गर्दा पनि महिनावारीमा धेरै रक्तस्राव हुने गर्छ ।  यसर्थ महिलामा यो रोग हुँदैन भन्ने भ्रम नेपाली महिनावारीमा धेरै रगत बग्ने महिलाले हेमोफिलियाको परीक्षण गराउनुपर्छ । 

शिक्षा र सचेतना अभिवृद्धि गर्दै महिलावर्गलाई यस विषयमा सचेत बनाउन जरुरी रहेको चिकित्सकले औँल्याएका छन् । डा. पौड्यालका अनुसार हेमोफिलिया ए र बी गरी दुई प्रकारको हुन्छ । रगतमा ‘फ्याक्टर ८’ कमी भएमा हेमोफिलिया ए हुन्छ । त्यस्तै ‘फ्याक्टर ९’ को कमीले हेमोफिलिया बी गराउँछ । 

भन विलेब्रान्ड डिजिज (डी डब्लु डी) भन विलेब्रान्ड रोग रक्तस्राव गराउने अर्को रोग हो । यो रोग भएका व्यक्तिको रगतमा प्रोटिनको समस्या हुन्छ । जब चोटपटकले रगत बग्छ, रगतमा हुने प्लेटलेट्सले रक्तस्राव रोक्न मद्दत गर्छन् । प्लेटलेट्सलाई आपसमा टाँसिएर रगत बग्नबाट रोक्ने बाँध बनाउन मद्दत गर्दछ ‘भन विलेब्रान्ड फ्याक्टर’ ले । ‘भन विलेब्रान्ड फ्याक्टर’ लाई एक प्रकारको गम भन्न सकिन्छ, यसले प्लेटलेट्सलाई आपसमा टाँस्छ । 

त्यही ‘भन विलेब्रान्ड फ्याक्टर’ को कमीबाट भन विलेब्रान्ड डिजिज हुने डा. पौड्यालले जानकारी दिए । धेरै मानिसलाई यो समस्या आफूमा छ भन्ने थाहा हुँदैन । धेरैजसो मानिसमा गम्भीर चोटपटक वा शल्यक्रिया गर्दा यो समस्या भएको पत्ता लाग्ने गर्छ । विश्व जनसङ्ख्याको १५ प्रतिशत मानिसमा यो समस्या रहेको छ । 

यो रोग हेमोफिलियाभन्दा बढी फैलिएको हुन सक्ने अनुमान छ तर त्यसको तथ्य बाहिर आउन सकेको छैन । नेपालको तथ्याङ्कमा हेमोफिलिया बढी देखिन्छ । किनभने पहिले यसको नेपालमा परीक्षण थिएन । अझ महिलामा रगत बढी बग्ने रोग हुँदैन पुरुषमा मात्र हुन्छ भन्ने भ्रमले गर्दा महिलाको परीक्षण नै गरिँदैनथ्यो । 

महिनावारीमा अत्यधिक रक्तस्राव भइरहेको छ भने भन विलेब्रान्ड डिजिज भएको हुन सक्छ । रगत परीक्षण गरेर त्यसको समाधान गर्न सकिने डा. पौड्यालको अनुभव छ । यस रोगका मुख्य तीन प्रकार छन् । 

पहिलो खालकोमा लक्षण सामान्यतया धेरै हल्का हुन्छन् । ‘भन विलेब्रान्ड फ्याक्टर’ को मात्रा केही कम हुन्छ । यस्तै शरीरले पर्याप्त मात्रामा ‘भन विलेब्रान्ड फ्याक्टर’ उत्पादन गरे पनि त्यसले आवश्यक परे जसरी काम गर्न सक्दैन र यसलाई दोस्रो खालको भन विलेब्रान्ड डिजिज भनिन्छ । 

तेस्रो अवस्थामा ‘भन विलेब्रान्ड फ्याक्टर’ निकै कम हुन्छ वा उत्पादन नै  हुँदैन । यो अवस्था गम्भीर हुन्छ । यस्तो अवस्था भएमा चोटबिना पनि शरीरका मांसपेशी र जोर्नीमा रक्तस्राव हुन सक्छ ।

महिनावारी र सुत्केरीको समयमा भन विलेब्रान्ड डिजिजका लक्षण देखिन्छन् । यस कारण महिलाले आफू गर्भवती भएको शङ्का लाग्नेबित्तिकै प्रसूति चिकित्सकलाई देखाउनुपर्छ । साथै गर्भावस्था र प्रसवको समयमा रगत रोग विशेषज्ञसँगसमेत परामर्श लिनु आवश्यक छ ।

रगतमा प्रोटिनयुक्त तत्त्वको अभावले हुने रोग 

रगतमा वंशाणुगत रूपमै आवश्यक प्रोटिनयुक्त रगतको अभावका कारण समेत महिला पीडित हुन सक्छन् । आमा वा बावुमा त्यस्तो समस्या छ भने बालबालिकामा जन्मजात त्यो समस्या आउँछ । रगत जमाउन अत्यावश्यक मानिने ‘क्लटिङ फ्याक्टर’को अभाव हुँदा रगत बग्न रोकिँदैन । यो समस्या पनि महिनावारी र सुत्केरी भएका महिलामा पछिल्लो समय बढी देखिएको छ ।

‘क्लटिङ फ्याक्टर’ कमी भएका महिलामा लामो समय महिनावारी हुन सक्छ । जसका कारण रक्तअल्पता हुने सम्भावना रहन्छ । ‘क्लटिङ फ्याक्टर’ कमी भएका महिलाले योजनाबद्ध गर्भधारण गर्नुअघि नै जोखिमबारे आनुवंशिक परामर्श लिन जरुरी हुन्छ । प्रसूति चिकित्सकले ‘क्लटिङ फ्याक्टर’ को कमीबाट हुन सक्ने हेमोफिलिया तथा रक्तस्राव विकारको उपचारमा समेत ध्यान दिनु पर्छ । यो सुविधा हाल सिभिल अस्पतालमा उपलब्ध छ ।