रेखीराम राना
पाल्पा, चैत १८ गते । तानसेन–४, मखनटोलका घरटहराका व्यापारीले तानसेन नगरपालिकालाई लाखौँ रकम कर तिर्न आनाकानी गरेका छन् । मखनटोलमा वर्षौंदेखि व्यापार गरिरहेका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख रुपियाँ कर तिर्न बाँकी रहेको छ ।
व्यापारीले २०६६ सालदेखि नै कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरूले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार रुपियाँभन्दा बढी कर तिर्न बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले घरटहराको मासिक पाँच सयदेखि दुई हजार रुपियाँसम्म टङ्की बहाल कर तोकेको छ । कर तिर्नका लागि पटकपटक पत्राचार गरिए पनि व्यापारीले अटेर गरेको आचार्यको भनाइ छ ।
कर तिर्न बाँकी रहेका व्यापारीले भने नगरपालिकाले मनोमानी रूपमा कर लगाएको आरोप लगाउँदै आएका छन् । “हामी वर्षौंदेखि यो ठाउँमा बसोबास गर्दै आएका हौँ तर नगरपालिकाले कुनै छलफल नै नगरी कर लगाएका कारण तिर्न बाँकी देखिएको हो,” व्यापारी मकबुल अलीले भन्नुभयो । नगरपालिकाले आफूहरूलाई राणाकालमा नै गरेर खाऊ भनेर दिएको जग्गाको हचुवामा कर तोकेको उहाँको भनाइ छ । नगर क्षेत्रको जग्गामा बहाल बिटौरी तथा टङ्की बहाल कर लगाउने अधिकार भएको नगरपालिकाले जनाएको छ । “सडक हाम्रो हो, जे पनि गर्न सकिन्छ भन्ने मनसाय सडक क्षेत्रका केही व्यापारीमा देखिएको छ,” नगरप्रमुख सन्तोषलाल श्रेष्ठले भन्नुभयो । हाल नगरपालिकाले उक्त क्षेत्रका करिब ५७ घरटहरा हटाउने निर्णय गरिसकेको छ ।
नगरपालिकालाई कर नतिर्ने व्यापारीले २३ वटा टहरा आफूखुसी छ हजारदेखि २० हजार रुपियाँसम्म भाडामा लगाएका छन् । तानसेनमा व्यक्तिको घरमा बस्नेले समेत नगरपालिकालाई कर तिरेका बेला मखन टोल क्षेत्रका २३ जना व्यापारीले भने नगरपालिकाबाट १० वर्षदेखि सित्तैमा सरकारी जग्गा प्रयोग गरेको अन्य व्यापारीको गुनासो छ ।