अविनाश चौधरी
धनगढी, चैत १७ गते । संविधानमा व्यवस्था भए बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्ने धारणा राखिएको छ । नेपाल कानुन समाजको आयोजनामा शुक्रबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले त्यस्तो बताउनुभएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यसचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको संविधानको मूल मर्मअनुसार तीनै तहका सरकार अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । अहिलेको व्यवस्था उत्कृष्ट रहेको उहाँको ठम्याइ थियो । संघीयताप्रतिको बुझाइ फरक फरक रहेको भन्दै उहाँले त्यसमा एकरूपता हुन आवश्यक रहेको चर्चा गर्नुभयो ।
प्रतिनिधि सभाका पूर्व उपसभामुख एवम् नेपाल कानुन समाजका उपाध्यक्ष पुष्पा भुसालले संविधानले मान्यता दिएको संरचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । संविधानले तीन तहको सरकारलाई शक्तिशाली बनाएको उल्लेख गर्नुहुँदै उहाँले कार्यान्वयनको पाटो पनि सहज हुनुपर्ने चर्चा गर्नुभयो ।
अधिवक्ता खिमलाल देवकोटाले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चुनौती, अधिवक्ता मोहन आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री कार्यालयको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।