काठमाडौं, चैत १७ गते । सरकारले कोभिड–१९ सङ्क्रमणबाट बच्न बुस्टरमात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको भन्दै बुस्टरमात्रा खोप लगाउन आग्रह गरेको हो ।
कोरोनाविरुद्धको खोप नलगाएकाहरूले नजिकैको स्वास्थ्य संस्थाबाट खोपको जानकारी लिई आवश्यकता अनुसार पहिलो, दोस्रो वा बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
ज्वरो आउने, खोकी लागने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिए बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गर्न मन्त्रालयको सुझाव छ ।
कोरोना सङ्क्रमणबाट बच्न नाक मुख, चिउँडो छोपिने गरी मास्क नलाउने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा वा हछिउ गर्दा रुमाल वा कुहिनोको प्रयोग गर्ने, कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न मन्त्रालयको सुझाव छ ।
पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । शुक्रबारमात्रै एक हजार ७९ जनाको कोरोना परीक्षण गर्दा १४२ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा चार जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६३ पुगेको छ ।