गोरखापत्र अनलाइन
काठमाडौं, चैत १७ गते । चोरीका खसी बोका किनबेच गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान चेकजाँच गर्ने क्रममा बा.२ ज.४३२७ नम्बरको ट्याक्सीमा बोकासहित फेला परेका व्यक्तिलाई सोधपुछ गर्दा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको दोरम्वा–१ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ, त्यही बस्ने ४० वर्षीय मिलन तामाङ र रामेछापको मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल पेप्सीकोला बस्ने ४३ वर्षीय दिलबहादुर कार्की छन् ।
काभ्रेपलान्चोकको आठ स्थान, भक्तपुरको १७ स्थानबाट ४ बोका र ३६ वटा खसी चोरी भएको अनुसन्धानमा खुलेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।