लक्ष्मण पौडेल
भैरहवा, चैत १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “हिजो राजनीतिक दलहरु परिवर्तनको आन्दोलनको भूमिकामा दिए, मुलुकमा व्यवस्था परिवर्तन भएसँगै अब यसलाई संस्थागत गर्न र जनताका आकांक्षा परिवर्तन गर्न दलहरुले विगतको भूमिका बदल्नुपर्छ ।”
मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउनुभयो । सरकारले अब आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।
राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनुहुँदै मन्त्री शर्माले भन्नुभयो, “आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन्, दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुराएका छन्, अबका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।”
जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खबरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खबरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी, कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले पत्रकारितामा विश्वसनीयताको सङ्कट रहेको भन्दै अब प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । सल्लाहकार निर्मला शर्माले पत्रकारितामा महिला सहभागिता बढाउनका लागि सबै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी (मैत्तय) ले नेपाली चिन्तन र छलफलको केन्द्र लुम्बिनी बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले लुम्बिनीमा देशभरका पत्रकार जुट्नु आफैँमा गौरवको विषय भएको जानकारी दिनुभयो ।
सदस्यता शुद्धीकरण अभियानमा महासंघ
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विज्ञापन बोर्डले कमिसनमा काम गरेको भन्दै यो विज्ञापन बोर्ड खारेजी गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उनले अहिलेसम्म निर्माण भएका कानुन, ऐन नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुहुँदै सरकारी र निजी सञ्चार प्रतिष्ठानले श्रमजीवी सञ्चार ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने औंल्याउनुभयो ।
शुद्धीकरणको अभियान कसैको पूर्वाग्रही ढङ्गले भन्दा पनि काउन्सिल बनाएर सदस्यता दिनु पर्ने भन्दै चुनाव लड्नेभन्दा पनि पत्रकारिताको विषयमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले नेपाली पत्रकार र सञ्चार गृहका बीचमा सघन छलफल आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पनि बोल्नुभएको थियो ।