• १४ वैशाख २०८१, शुक्रबार

पालिकास्तरीय गौरवका योजना अधुरै

blog

बाँकेको खजुरामा निर्माणाधीन अस्पताल भवन ।

गोविन्द शर्मा 

बाँके, चैत १७ गते । बाँकेको खजुरा गाउँपालिकामा निर्माण सुरु गरिएको शीतभण्डार निर्माण अझै अधुरो रहेको छ । २०७८ साल भदौ ३० गते सम्पन्न हुने गरी यसको निर्माण अगाडि बढाइएको थियो । रविना/अभियान/जुगल जेभी तीनकुनेले छ करोड १४ लाख रुपियाँको लागतमा निर्माणको जिम्मा लिए पनि पालिकाअन्तर्गत गौरवको यो आयोजना निर्माण हुन सकेको छैन । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार पालिकामा सञ्चालित अधिकांश गौरवका आयोजनाको निर्माणमा ढिलाइ भएको छ । पालिकाले बढी लागतका योजनालाई गौरवको आयोजनाका रूपमा समावेश गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको १५ शय्याको अस्पताल, शीतभण्डार, बहुउद्देश्यीय सभा हलको काम हालसम्म सम्पन्न हुन सकेको छैन । सडक र नालीसहितका २० वटा योजना निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेका छन् । ती योजना समयमै सम्पन्न हुन नसक्दा विकास निर्माणका योजनाप्रति सर्वसाधारणले गरेको आशा निराशामा परिणत भएको छ । पालिकाबाट बजेट विनियोजन भएर काम सुरु भएपछि उत्साहित भएका स्थानीय अहिले निराश बन्न थालेका छन् । 

“आर्थिक वर्ष २०७५/७६ देखिका योजनासमेत निर्माण सम्पन्न नभएको अवस्था छ,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, “निर्माण व्यवसायीले समयमा नै काम नसक्दा निर्माणका लागि आएको पैसा फ्रिज हुने र पालिकालाई अनावश्यक दायित्व बढ्दै गएको छ ।” पुराना योजना मात्रै नभई चालु आर्थिक वर्षका योजनाको समेत सन्तोषजनक प्रगति देखिएको छैन । चालु आवमा २६ योजना ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरी सम्झौता भएकोमा केही योजना कार्यान्वयन भएका छैनन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले ठेक्का लिने तर समयमै काम नगर्ने परिपाटी बन्न थालेको भन्दै यसबाट समग्र विकास निर्माण प्रभावित भएको बताउनुभयो । उहाँले ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई अबका दिनमा कडाइका साथ कारबाही गरिने बताउनुभयो । विकास निर्माणका काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई छिटो काम अघि बढाउन सचेत गराउँदै पत्राचार गरिएको छ । तत्कालै निर्माण अघि नबढाए खरिद ऐन र प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रियामा जाने चेतावनी उहाँले दिनुभयो ।