• १५ वैशाख २०८१, शनिबार

खानेपानी र विद्युतकाे असुविधा

blog

लीलाधर वली 

घोराही, चैत १७ गते । साबिकको सैघा गाविसलाई घोराही उपमहानगरपालिकामा गाभिएपछि स्थानीय खुसी थिए । भौगोलिक विकटताका कारण समस्याका रूपमा रहेको सडक, खानेपानी, विद्युत्, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका समस्या हट्ने अपेक्षा स्थानीयको थियो । तर पनि घोराही उपमहानगरपालिका भएको छ वर्ष बितिसक्दा पनि स्तरीय सडक बन्न सकेको छैन । न विद्युत् पुगेको छ, न त खानेपानीको सुविधा पाउन सकेका छन् नगरवासीले । 

आर्थिक रूपमा सम्पन्न हुने परिवारले सोलार राखे पनि कमजोर आर्थिक अवस्था भएका परिवारलाई तेलकै भरमा बत्ती बाल्नुपर्ने बाध्यता छ । वडा नं. १९ का अधिकांश बस्ती विद्युत्, खानेपानी, स्वास्थ्य सेवाबाट वञ्चित छन् ।  त्यसमध्येको एउटा बस्ती हो, पाँचपोखरी । उपमहानगरपालिका भन्ने नाम मात्रै छ, बस्तीको छेउमै दुई वर्षअघि खानेपानीको ट्याङ्की बने पनि अहिलेसम्म विद्युत् नआउँदा पानी सङ्कलन हुन नसकेको स्थानीय निमबहादुर घर्तीले बताउनुभयो । 

“उपमहानगरवासी भनेर के गर्ने ? गाउँमा बत्ती छैन । दुई वर्षअघि बनेको खानेपानीको ट्याङ्की अहिलेसम्म सञ्चलन भएको छैन,” उहाँले भन्नुभयो, “उपमहानगरपालिका बनेपछि सडक बन्छ, विद्युत् आउँछ, खानेपानी आएर विकास हुन्छ भन्थे खै त !” उहाँका अनुसार घोराही उपमहानगरपालिकाको पहाडी क्षेत्रमा पर्ने पाँचपोखरीबाट रातको समयमा घोराहीको झिलिमिली देखिन्छ तर गाउँ भने अन्धकारमै छ । 

वडा नं. १९ कै अर्काे बस्ती लिथानको पनि अवस्था उस्तै छ । लिथान प्युठान र रोल्पाको सीमा नजिकको बस्ती हो । उपमहानगरपालिकाभित्र पर्ने बस्ती भए पनि गाउँमा मोटरबाटो, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतको सुविधा नभएको लिथान निवासी स्थानीय पञ्चराम बुढाले बताउनुभयो । उहाँले गाउँमा विकास र नेता चुनावको समयमा मात्र आउने गरेको गुनासो गर्नुभयो । स्वास्थ्य सेवा लिनसमेत स्थानीयलाई स्वास्थ्यचौकी पुग्न दुई घण्टा लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

वडा नं. १९ मा सैघा स्वास्थ्य चौकी छ । सो चौकीबाट आधारभूत स्वास्थ्य सेवासँगै बर्थिङ सेन्टरको व्यवस्था छ तर एम्बुलेन्स सेवा छैन । यसले गर्दा बिरामीसँगै सुत्केरी महिलालाई बोकेर स्वास्थ्य चौकीसम्म लैजानुपर्ने बाध्यता रहेको पाँचपोखरी निवासी रामकुमार पुन बताउनुहुन्छ ।

साबिकको सैघा गाविस उपमहानगरपालिकामा गाभिएसँगै जनताले अपेक्षा गरेअनुसार परिवर्तनको महसुस नभएको र विकास निर्माणका काम पनि नभएको वडा नं. १९ भगवती माध्यमिक विद्यालय होडबाङका प्रधानाध्यापक देवीबहादुर घर्तीमगरले बताउनुभयो । करिब छ वर्षको अवधिमा सडक निर्माणसँगै घोराहीबाट वडा कार्यालयसम्म विद्युत्समेत नपुगेको गुनासो उहाँले राख्नुभयो ।