• ८ वैशाख २०८१, शनिबार

सिमसारको जमिन व्यक्तिको नाममा

blog

यादवराज पुरी 

रौतहट, चैत १७ गते । सिमसारको जमिन व्यक्तिको नाममा दर्ता गरी अतिक्रमण गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित मरधर सिमसारको अधिकांश जमिन व्यक्तिको नाममा दर्ता भएको पाइएको छ। 

करिब ८० बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रको जमिनमध्ये ५० बिघाभन्दा बढी जमिन व्यक्तिको नाममा दर्ता भएको छ। मालपोत कार्यालय चन्द्रपुरको जग्गाधनी दर्ता प्रमाण स्रेस्तामा अभिलेख छ। २०४६ सालमा मकवानपुरको धियाँलबाट हटाइएका नागरिकलाई वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले रौतहटको साबिक रङ्गपुर गाविसस्थित कटानी भन्ने स्थानमा स्थानान्तरण गरेको थियो। सोही बखत आयोगले सिमसारको जमिन पनि व्यक्तिको नाममा दर्ता गराएको अभिलेख रहेको मालपोत कार्यालय चन्द्रपुरका अधिकृत केशव भट्टराई बताउनुहुन्छ। 

सात कट्ठादेखि १५ कट्ठासम्मका जमिनको ११६ वटा स्रेस्ता कायम भएको छ। १० वर्षसम्म बेचबिखन तथा हक हस्तान्तरण गर्न नपाइने सर्त रहेको उक्त जमिन अहिले अधिकांशले बेचिसकेका छन्। २०४६ साल असारमा साबिक सन्तपुर गाविस–८ का बाबुराम अधिकारी, कृष्णहरि दाहाल, छविलाल अधिकारीको नाममा जनही १० कट्ठा, गजाधर उपाध्यायको नाममा सात कट्ठा, चिरञ्जिवी पराजुलीको नाममा १४ कट्ठा दुई धुर गरी ११६ जनाको स्रेस्ता कायम भएको छ।  

बेचबिखन भई बचेको सिमसारको जमिन अतिक्रमणसमेत भएकोले अब करिब १० बिघा क्षेत्रफल बेचेको हुनसक्ने स्थानीय जनकराज भारती बताउनुहुन्छ। उहाँका अनुसार सिमसारमा दुर्लभ चराहरू सारस, पानीहाँस, झिल्लालगायत जाडो छल्न साइबेरियन चरासमेत आउने गरेका थिए। सिमसार क्षेत्र साँघुरिएपछि ती चराहरू बिरलै देख्न पाइन्छ। 

यता वडाका वडाध्यक्ष जितेन्द्र चौधरीले सिमसारको अधिकांश जमिन व्यक्तिको नाममा दर्ता भएको पाइएपछि प्रदेश सरकारले सिमसार विकासका लागि पठाएको डेढ करोड रुपियाँसमेत फिर्ता भएको बताउनुभयो। उहाँका अनुसार सिमसारको जमिन भूमाफियाको नामबाट नगरपालिकाको नाममा ल्याउन पहल भइरहेको छ। पछिल्लो समय उक्त जमिनको मालपोत बुझाउन आउने मानिसको राजस्व वडा कार्यालयले बुझ्ने गरेको छैन। सिमसार क्षेत्र विकास, संरक्षण तथा प्रचारप्रसार गर्न मरधर जलाधार संरक्षण विकास समिति गठन गरिए पनि राजनैतिक खिचातानीका कारण समितिले प्रभावकारी काम गर्न सकेको छैन।