• १६ चैत २०८०, शुक्रबार

नेपाल फाइनल खेल्न तयार

blog

फाइनलअघि ट्रफीसँग तस्बिर खिचाउँदै दुवै टोलीका प्रशिक्षक र कप्तान । तस्बिर : एन्फा

काठमाडौं, चैत १६ गते । नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि जित्न तयार रहेको नेपाली टोलीका प्रशिक्षक र कप्तानले बताउनुभएको छ । फाइनल खेल शुक्रबार साँझ दशरथ रङ्गशालामा नेपाल र लाओसबीच हुँदैछ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले टोलीका खेलाडी शारीरिक र मानसिक रूपले लाओससँग फाइनल खेल्न तयार रहेको बताउनुभयो ।

‘‘हामीले फाइनलका लागि राम्रो तयारी गरेका छौँ । टोलीका सबै खेलाडीमा मनोबल उच्च रहेको छ । पहिलो खेलमा लाओसलाई हामीले हराई सकेका छौँ । फाइनलमा राम्रो खेल्ने विश्वास दिलाउन चाहन्छु । नेपाली टोलीका अहिले किरण चेम्जोङ, अनन्त तामाङ, रोहित चन्द र अन्जन विष्ट जस्ता तीन चार जना मात्र सिनियर खेलाडी छन् । नयाँ खेलाडीको मनोबल बढाउन पनि उपाधि जित्न आवश्यक छ,’’ फाइनल खेलअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनेसले भन्नुभयो । 

एनेसले नेपालले छिट्टै साफ च्याम्पियनसिप र विश्वकप छनोट जस्ता ठूला खेल खेल्नु पर्ने भएकोले टोलीमा आमूल सुधार गर्नु पर्न आवश्यकता रहेको पनि बताउनुभयो ।

‘‘हाम्रो मुख्य ध्यान भोलि लाओससँग खेल्नु हुनेछ । लासोससँग भुटानविरुद्धको खेलमा घाइते हुनुभएका अन्जन समेत खेल्ने सम्भावना छ । यस प्रतियोगितापछि टोलीमा अधिकतम खेलाडी समेटेर राम्रो टोली तयार गर्ने सोच छ,’’ एनेसले भन्नुभयो ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षकले भने जस्तै लाओससँग उपाधिका लागि खेल्ने बताउनुभयो । ‘‘नयाँ खेलाडीको ‘मोरल बुस्टर’ गर्न पनि उपाधि जित्नुपर्ने खाँचो छ । नेपाली फुटबल पछिल्लो समय कमजोर जस्तो देखिन्छ । खेलाडी पलायनको असरलाई थेग्न नयाँ खेलाडीले धेरै मिहेनत गर्न आवश्यक छ । हामी लाओससँग राम्रो फुटबल खेल्दै उपाधि जित्नेछौँ,’’ किरणले भन्नुभयो ।  

यसैगरी लाओसका मुख्य प्रशिक्षक माइकल वेसले युवा खेलाडीले बिस्तारै राम्रो गर्दै गएकोले नेपालविरुद्ध फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । ‘‘हामीले पहिलो खेलमा गरेको गल्ती पुनः गर्ने छैनौँ । यस उपाधिले हाम्रा लागि धेरै अर्थ राख्छ । टोलीमा युवा खेलाडी छन् । हामीले भर्खरमात्र त्यहाँको यू–१९ महादेशीय प्रतियोगिता जितेर आएका थियौँ । जुनियर खेलाडीले यस प्रतियोगिता जितेर जाँदा टिमको मनोबल थप उच्च हुनेछ । नेपालसँगको फाइनल खेल प्रतिस्पर्धात्मक हुनेछ,’’ वेसले भन्नुभयो । 

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले नेपालसँगको फाइनल खेल रोचक हुने बताउनुभयो । ‘‘हामी यस उपाधि जितेर लाओसका जनतामा खुसी दिलाउन चाहन्छौँ । नेपाल राम्रो छ । हामीले पहिलो खेलमा हारेपनि फाइनलमा कडा टक्कर दिने सोचेका छौँ,’’ सौकाफोनले भन्नुभयो ।

नेपालले लिग चरणको पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा सहज बनाएको थियो । भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै बाहिरिएको थियो । नेपालले लिग चरणको विजेता र लाओसले उपविजेता बन्दै फाइनलमा स्थान बनाएको हो । 

यस प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।