• १५ वैशाख २०८१, शनिबार

प्रिमियर शोमा 'प्रेमा'लाई सकारात्मक प्रतिक्रिया

blog

काठमाडौं, चैत १६ गते । चैत १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’को प्रिमियर सो सम्पन्न भएको छ । काठमाडौंमा बुधबार भएको प्रिमियर शोमा फिल्मकर्मीहरूले ‘प्रेमा’लाई सकारात्मक प्रतिक्रिया दिनुभएको हो ।

‘महापुरुष’ बाट डेब्यू गर्नुभएकी अभिनेत्री अञ्जना बराइलीले फिल्मका साथै मुख्य कलाकारहरूको अभिनय राम्रो रहेको बताउनुभयो । "नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो", उहाँले भन्नुभयो । 

यस्तै, अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको सुनाउनुभयो । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा मिलेको उहाँको भनाइ छ । 

फिल्मका अभिनेता अरुण क्षेत्रीले प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट आफू फिल्म चल्नेबारे ढुक्क भएको बताउनुभयो । "हिजोसम्म म न्यूटल अवस्थामा थिएँ। किनकि फिल्म बाहिर आइसकेको थिएन। तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु", अरुणले भन्नुभयो ।

अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुसी लागेको बताउनुभयो । "म अत्यन्त खुसी छु। मेरो मिहिनेतलाई सबैले स्विकारिदिनुभएको छ। मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु", उहाँले भन्नुभयो ।

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता विवेक घिमिरे हुनुहुन्छ भने फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन छ ।

निर्देशक भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग ’कनेक्ट’ गरेको बताउनुभयो । "मेरो कथा र निर्देशनप्रति दर्शकहरू सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ", उहाँले भन्नुभयो ।

फिल्ममा अरुण, सुभेक्षाका साथै सृष्टि श्रेष्ठ,साथै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान् थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय देख्न सकिन्छ ।