• १४ वैशाख २०८१, शुक्रबार

सल्यानमा एक घर एक धारा कार्यक्रम

blog

दार्मा गाउँपालिकामा एक घर एक धारा कार्यक्रम । तस्बिर: प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत १६ गते । दार्मा गाउँपालिका - ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । उहाँले भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।’  

उहाँ जस्तै फारुलाचौरकै विमला रोकायले घटौँ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको बताउनुभयो ।

उहाँका अनुसार खानेपानी लिन सामुदायिक धारा र कुवामा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । 

दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ७३ लाख ६० हजार रुपियाँको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।


उहाँका अनुसार पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँच भित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको छ ।

दार्मा गाउँपालिका र रेडक्रस सोसाइटिको सहकार्यमा दार्मागाउँपालिका ३ का फारुलाचौरका १४०, वडा नम्बर ४ मालिकाका ३८ र ६ का मलिक्चाका ८०, टिकेपातलमा ६६ घरधुरीमा एक घर एक धाराको खानेपानी योजना सञ्चालन गरिएको छ । 

दार्मा गाउँपालिका सबै घर धुरीमा खानेपानी योजना सञ्चालन गर्न १८ करोड रुपियाँ बराबरको विस्तृत योजना तयार भएको गाउँपालिकाले जनाएको छ ।