• १२ साउन २०८१, शनिबार

स्याङ्जामा माछा मारेका तीन चिनियाँ नागरिक पक्राउ

blog

अर्जुन काफ्ले 

स्याङ्जा, चैत १६ गते । अर्जुन चौपारी गाउँपालिका -३ चिन्नेबासमा अवैध ढङ्गले दरौखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ । 

खोलामा माछा मारेको स्थानीयले खबर गरेपछि अर्जुन चौपारी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसिन, जाल र माछा समाउने जाली तथा बा १२ च २७७ नम्बरको हाइलक्स गाडीसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

प्रहरीले ४१ वर्षीया जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हुलाई पक्राउ गरेको हो । गाउँपालिकाले माछा मार्न नै रोक लगाएको खोलामा अवैध ढङ्गले करेन्ट लगाएर माछा मारेका चिनियाँ नागरिकलाई गाउँपालिकाले जनही पाँच/पाँच हजारले जरिवाना गरेको हो । 

प्रहरीले करेन्ट मेसिन जफत गरेको र थप अनुसन्धानको लागि गाडी र तीनै जनालाई जिल्ला प्रशासन कार्यालय, स्याङ्जा पठाएको प्रहरी वरिष्ठ नायव निरीक्षक ख्यामबहादुर खड्काले बताउनुभयो । 

ठूलो अपराध केही गरेको नदेखिएको र वैधानिक भए नभएको प्रशासनले हेर्ने बताउँदै प्रमुख जिल्ला अधिकारकी शशिधर घिमिरेले वैधानिक भए छोडिने र अवैधानिक भए अध्यागमन कानुन अनुसार कारबाही अगाडि बढाउने बताउनुभयो । 

पक्राउ परेका गाहुले पुतलीबजार नगरपालिका १३ मा विवाह गरेको र पक्राउ परेको सवारी साधन निजकै श्रीमती सजिना सारुको रहेको खुलेको छ ।