• २१ वैशाख २०८१, शुक्रबार

मन्दीको प्रभावमा चौथो बर्दिबास महोत्सव

blog

चौथो वर्दिवास महोत्सवमा सम्बोधन गर्दै आयोजक बर्दिबास उद्योग वाणिज्य संघ । तस्वीर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, चैत १६ गते । चौथो बर्दिबास महोत्सव २०७९ सम्पन्न भएको छ । ‘उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नारासाथ चैत ३ गतेदेखि सुरु भएको महोत्सव चैत १६ गते समापन भएको हो ।

प्रदेश सभा सदस्य शारदा थापाले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै अर्थतन्त्र चलायमान बनाउन मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । 

स्थानीय पहिचान र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विगत ४ वर्षदेखि मधेश प्रदेशकै ‘ब्राण्ड’ बनेको बर्दिबास महोत्सव यो पटक भने आर्थिक मन्दीको मारमा परेको व्यवसायीको अनुभव छ । 

बर्दिबासको चिनारीस्वरुप यहाँको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थलहरू र स्थानीय उत्पादन समेटिएका वृत्त चित्र, ओझेलमा परेका सम्पदाको फोटो प्रदर्शनी, जातीय भेषभूषासहितका सांस्कृतिक कार्यक्रम, विद्यार्थीका लागि ज्ञानवर्धक स्टल, हस्तकला, महिला सशक्तीकरण जस्ता नौलो प्रस्तुतिले महोत्सवप्रति आकर्षण बढेको थियो ।  

चौथो महोत्सवमा १७० जति स्टलबाट व्यापारिक कारोबार भएका थिए । आयोजक बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले कोभिड र बैकको निर्मम ब्याजले सुस्त पारेको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरेको बताउनुभयो ।